काठमाडौं, वैशाख १५ — नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि वैशाख १६ गते बुधबार देशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले मंगलबार जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारासहित आसपासका क्षेत्र, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला तथा सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ।
सूचनाअनुसार बुधबार साँझ ५:४५ बजेदेखि सुरु हुने हावाहुरी पर्सि वैशाख १७ गते बिहान ७:४५ बजेसम्म जारी रहने अनुमान गरिएको छ। यस अवधिमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना तथा वर्षासहितको मौसम प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने सम्भावना समेत रहेको बताइएको छ।
प्राधिकरणका अनुसार तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको हो।
सरकारले सर्वसाधारणलाई सकेसम्म घरबाहिर हिँडडुल नगर्न, घरका झ्यालढोका मजबुत रूपमा बन्द गर्न, कमजोर जस्तापाताको छाना भए बलियोसँग बाँध्न, घरबाहिर आगो नबाल्न तथा घरभित्र आगो बाल्दा पनि सावधानी अपनाउन अनुरोध गरेको छ।
त्यसैगरी, कमजोर संरचना, अग्ला रुख, बिजुलीका खम्बा तथा तारमुनि नबस्न, लत्रिएको बिजुलीको तार नछुन, उडेर आउने वस्तुबाट चोटपटक लाग्न सक्ने भएकाले चनाखो रहन पनि आग्रह गरिएको छ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभाग र सम्बन्धित निकायबाट जारी हुने मौसमसम्बन्धी सूचना नियमित रूपमा हेरी आवश्यक सतर्कता अपनाउन सबै नागरिकलाई अनुरोध गरेको छ।
प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतद्वारा हस्ताक्षरित उक्त सूचनामा विपद्को जोखिम कम गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।