खैरो हिरोइनसहित तीन जना पक्राउ, सिरहाबाट काठमाडौं जाँदै गरेको बसमा प्रहरीले गर्‍यो चेकजाँच

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाश माझी, सिरहा : सिरहामा प्रहरीले खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहा, लागूऔषध नियन्त्रण ब्युरो शाखा गोलबजार तथा इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मिति २०८३ साल ०२ महिनाको ०५ गते साँझ करिब ८ बजे विष्णुपुर गाउँपालिका–१ स्थित सिरहा–चोहर्वा सडक खण्डमा सिरहाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३५३७ नम्बरको यात्रुवाहक बस रोकी चेकजाँच गरिएको थियो।

चेकजाँचका क्रममा बसमा सवार जिल्ला सिरहा औरही गाउँपालिका–४ बस्ने ३२ वर्षीय राम उदगार यादव, सिरहा नगरपालिका–२२ बस्ने अन्दाजी ३६ वर्षीय राम बिलेक्षण यादव तथा भारतको मधुवनी जिल्ला, ग्राम पञ्चायत खाजेडी वडा नं. ५ बस्ने अन्दाजी २१ वर्षीय चन्दन कामतीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले राम उदगार यादवको साथबाट स्टिलको डिब्बाभित्र लुकाई राखिएको खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ बरामद गरेको जनाएको छ। बरामद पदार्थ स्टिलको डिब्बासहित तौल गर्दा ४७ ग्राम १८० मिलिग्राम र डिब्बा बाहेक २६ ग्राम १७० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। साथै घटनास्थलबाट एउटा डिजिटल तराजु समेत बरामद गरिएको छ।

पक्राउ परेका तीनै जनालाई बरामद लागूऔषध र डिजिटल तराजुसहित जिल्ला प्रहरी कार्यालय सिरहामा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। घटनामा संलग्नमाथि थप अनुसन्धानका लागि मिति २०८३/०२/०६ गते सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले बताएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।