धनुषामा लागुऔषध कारोबार आरोपमा एक पक्राउ, हजारौं ट्याब्लेट बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनुषा — जिल्ला प्रहरी कार्यालय जनकपुरधाम धनुषाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार धनुषाधाम नगरपालिका–८ भिमान चोकस्थित सञ्चालनमा रहेको “समिक्षा हेल्थ केयर प्रा.लि.” मा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाको आधारमा गरिएको खानतलासीका क्रममा ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद गरिएको हो।

प्रहरीका अनुसार मिति २०८३ जेठ ३ गते साँझ करिब ७ः२० बजे इलाका प्रहरी कार्यालय ढल्केवर धनुषा तथा लागूऔषध ब्यूरो शाखा कार्यालय बर्दिवास, महोत्तरीबाट खटिएको संयुक्त टोलीले हेल्थ केयरको औषधि पसल तथा घरकोठामा रितपूर्वक खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरको भुईंतलाको पछाडितर्फ रहेको कोठाबाट विभिन्न प्रकारका मनोद्विपक तथा लागूऔषधजन्य ट्याब्लेटहरू कार्टुन र प्लास्टिकको पोकामा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उक्त घटनामा गणेशमान चारनाथ नगरपालिका–१ निवासी ३४ वर्षीय सन्तोष कुमार विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले बरामद गरेको औषधिमा TAPENTADOL 50mg का १ हजार ७ सय पिस, स्पासरेस्ट 100mg का १ हजार ५ सय ९० पिस, TRAMADOL 50mg का १ सय पिस, ANTIKOF लगायत अन्य विभिन्न प्रकारका ट्याब्लेटहरू रहेका छन्। बरामद औषधिको विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छ।

घटनापछि पक्राउ परेका विश्वकर्माविरुद्ध जिल्ला अदालत धनुषाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले लागूऔषधको अवैध कारोबार नियन्त्रणका लागि प्रहरी सक्रिय रूपमा परिचालित रहेको बताए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।