ज्योति विकास बैंक प्रकरणमा नयाँ ट्विस्ट: रुपनी शाखा घेराउ घोषणा, घटना जिम्मा सङ्रौलाले लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तकोशी : नागरिक बचाउ महाअभियान अन्तर्गत ऋणी एसोसिएसनका संयोजक देबि सङ्रौलाले ज्योति विकास बैंकसँग गरिएको सहमति उल्लंघन गरी ऋणीलाई आतंकित गरिएको आरोप लगाउँदै सप्तरीमा सडक आन्दोलनको घोषणा गरेका छन्।


सङ्रौलाका अनुसार २०८२ साल मंसिर २३ गते सप्तकोशी एग्रोका प्रोप्राइटर कासिराम चौधरी ऋणसम्बन्धी समस्या लिएर उनीसँग भेट्न आएका थिए। पीडितको कुरा सुनेपछि आफूले ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई फोन गरेको तर सम्पर्क हुन नसकेपछि रिकभरी हेड विकास राणासँग लाउडस्पिकरमार्फत कुराकानी गरिएको उनको भनाइ छ।


उनका अनुसार सो क्रममा विकास राणाले “यो केस तपाईंले नै मिलाइदिनुहोस्, पौष मसान्तभित्र जग्गा बिक्री गरेर वा जे गरेर भए पनि समाधान गरिदिनुहोस्” भन्दै जिम्मा दिएको बताएका छन्। उक्त छलफलमा बैंकले पौष मसान्तसम्म लिलामी सूचना ननिकाल्ने र ऋणीको घरमा ताकेता नगर्ने सहमति भएको दाबी गरिएको छ।


तर सहमति भएको भोलिपल्ट नै बैंकका कर्मचारीहरू ऋणीको माछा पोखरीमा पुगेर कामदारसँग अभद्र व्यवहार गर्ने, यौन दुर्व्यवहार र शारीरिक सम्पर्क गर्न खोजेको आरोप सङ्रौलाले लगाएका छन्। सो क्रममा महिला र स्थानीयले प्रतिकार मात्र गरेको उनको भनाइ छ।


घटनापछि विकास राणासँग पुनः सम्पर्क गर्दा “हामी उजुरी गर्दैनौँ, कर्मचारीको कमजोरी भयो, तपाईंले मिलाइदिनुहोस्” भन्ने जवाफ आएको दाबी पनि सङ्रौलाले गरेका छन्। तर अहिले आएर ऋणी पक्षका कार्यकर्तामाथि अभद्र व्यवहारको मुद्दा लगाई पक्राउ पुर्जी जारी गरिएको भन्दै यसले ऋणीलाई थप आतंकित बनाएको आरोप लगाइएको छ।


ऋणीहरूको न्याय र सुरक्षाका लागि आफू जिम्मेवार रहेको जनाउँदै सङ्रौलाले भोलि सप्तरीको रुपनीस्थित ज्योति विकास बैंक शाखा अगाडि घेराउसहितको आन्दोलन गर्ने घोषणा गरेका छन्। उनले बुद्धिजीवी, अभियन्ता, पत्रकार, सचेत नागरिक तथा बैंकिङ क्षेत्रका जानकारहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।


साथै, यस घटनाबाट उत्पन्न परिस्थितिको नैतिक जिम्मेवारी नागरिक बचाउ महाअभियान केन्द्रीय अर्थ तथा ऋणी एसोसिएसनले लिने सार्वजनिक घोषणा पनि गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।