काठमाडौं: माध्यमिक शिक्षा परीक्षा (एसइई)मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका खोटाङका एक जना छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ ।
केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवश केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित छात्रका आफन्तले बोर्डमा उजुरी दिएका थिए । उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक गरेको हो ।गएको वर्षकाे चैत २० गते पृथ्वी माध्यमिक विद्यालय बाक्सिला केन्द्रमा भएको अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षाको उत्तरपुस्तिकामा निरीक्षकले केरमेट गरिदिएका थिए ।
गएकाे असोज १३ गते उत्तरपुस्तिका पुनः परीक्षणका लागि निवेदन दिएपछि यही कात्तिक ४ गते राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित सूचनामा शिवकुमारको नतिजा सुधार भएर आएको बुबा परशुराम राईले जानकारी दिनुभयो ।निरीक्षकलाई कारबाहीको माग गर्दै गएको असोज २२ गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला प्रहरी कार्यालयमा विद्यालय व्यवस्थापन समिति र अभिभावकले उजुरीसमेत दिएका थिए । तर उनलाई कुनै कानूनी कारबाही भएको छैन ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।