काठमाडौं,असार १०
कैलाश माझी : सामाजिक सञ्जालमार्फत एक महिलाको अश्लील तस्बिर तथा भिडियो दुरुपयोग गरी चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटी काठमाडौंका अनुसार पीडित महिलाले आफ्नो अश्लील तस्बिर तथा भिडियो दुरुपयोग गरी सामाजिक सञ्जाल Discord र Telegram लगायतका प्लेटफर्ममा पोस्ट गरिएको भन्दै कानुनी कारबाहीको मागसहित निवेदन दिएकी थिइन्।
उक्त निवेदनपछि साइबर ब्यूरोले प्राविधिक अनुसन्धान तथा डिजिटल विश्लेषण गरेको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको खुल्न आएपछि रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ त्रिभुवन पार्क क्षेत्रमा बसोबास गर्दै आएका १९ वर्षीय विज्ञान शर्मा तिमल्सिनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
साइबर ब्यूरोबाट खटिएको टोलीले उनलाई असार १० गते पक्राउ गरेको हो। पक्राउ परेका तिमल्सिनाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति प्राप्त गरी घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको गोपनीयता उल्लंघन गर्ने, अश्लील सामग्री प्रसारण गर्ने वा चरित्रहत्या गर्ने कार्य कानुनविपरीत रहेको भन्दै यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रहरीले साइबर अपराध सम्बन्धी कुनै पनि घटना भए तत्काल नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा जानकारी गराउन अनुरोध गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।