काठमाडौं । सुरक्षा निकायमाथि ड्रोन आक्रमण गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्ने व्यक्ति अर्घाखाँची मालारानी गाउँपालिका–२ निवासी ३२ वर्षीय डा. निकोलस भुसाल (कमल भुसाल) हुन्।
प्रहरीका अनुसार भुसालले विभिन्न स्थानहरूमा पत्रकार सम्मेलन गरेर “आफूले चाहेमा तत्काल ड्रोन आक्रमण गरी प्रहरी मुख्यालय वा बालुवाटार ध्वस्त पार्न सक्छु” भन्ने जस्ता उक्साउने, भड्काउने र आतंक फैलाउने अभिव्यक्ति दिएका थिए।
उनको यस्तो गतिविधिले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र जातीय सद्भावमा प्रतिकूल असर पारेको भन्दै प्रहरीको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भुसालमाथि यसअघि पनि विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता भएको अभिलेख रहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (प्र.उ.) पवन कुमार भट्टराईले भने —
“सार्वजनिक शान्ति भङ्ग गर्ने र राष्ट्रको स्वाभिमानमाथि आघात पुर्याउने अभिव्यक्ति सह्य छैन। आवश्यक अनुसन्धानपछि कानुनी कारबाही अघि बढाइनेछ।”
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।