भारत–पाकिस्तान युद्धमा नेपालको साथ भारतलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारत र पाकिस्तानबीच चर्किँदो सैन्य तनावबारे नेपाल सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले ८ मे २०२५ मा जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपालले आतङ्कवादप्रति कडा विरोध र क्षेत्रीय शान्तिप्रतिको प्रतिबद्धता पुनः दोहोर्याएको छ।

विज्ञप्तिमा भारतको जम्मु–कश्मीरस्थित पहलगाममा २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणको स्मरण गर्दै सो घटनामा एक नेपाली नागरिकको मृत्यु भएकाले नेपाल गहिरो पीडामा रहेको उल्लेख गरिएको छ। “यो दुःखद घडीमा नेपाल र भारत साझा शोक र संवेदनामा एकजुट भएर उभिएका थिए,” विज्ञप्तिमा भनिएको छ।

नेपालले आतङ्कवादको सबै स्वरूपको विरोध गर्दै घटनाको तुरुन्त र स्पष्ट रूपमा निन्दा गरेको स्मरण गराइएको छ। “नेपाल सबै प्रकारका आतङ्कवादी गतिविधिको सशक्त विरोध गर्दछ,” विज्ञप्तिमा उल्लेख छ, “र, आतङ्कवादविरुद्धको साझा लडाइँमा सबैसँग उभिन्छ।”

साथै नेपालले आफ्ना छिमेकी राष्ट्रहरूमाथि लक्षित कुनै पनि दुस्प्रवृत्तिलाई आफ्ना भूमिबाट सञ्चालन हुन नदिने स्पष्ट अडान लिएको छ। “नेपालले आफ्नो भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन दिने छैन,” परराष्ट्र मन्त्रालयले भनेको छ।

नेपालले भारत–पाकिस्तानबीच चर्किँदै गएको तनावको शान्तिपूर्ण समाधानको आशा गर्दै, क्षेत्रीय स्थायित्व र दीर्घकालीन शान्तिप्रति प्रतिबद्धता व्यक्त गरेको छ।

सन्तुलित कूटनीतिक भाषा प्रयोग गर्दै जारी विज्ञप्तिलाई विश्लेषकहरूले नेपालको असंलग्न परराष्ट्र नीति र क्षेत्रीय समन्वयको सन्देशका रूपमा लिएका छन्। नेपालले विगतका झैं यसपटक पनि छिमेकीहरूबीच संवाद र संयमको माध्यमबाट समाधान खोज्न जोड दिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।