बैतडी बस दुर्घटनाले फेरि उठायो सडक सुरक्षाको प्रश्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाश माझी : बैतडीमा शुक्रबार साँझ भएको यात्रुवाहक बस दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन्।

दशरथचन्द नगरपालिका–०४ साईलेकस्थित दशरथचन्द राजमार्गमा धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र. ०१–००१ ख ३६४६ नम्बरको बस अनियन्त्रित भई करिब २५ देखि ३० मिटर तल खसेपछि दुर्घटना भएको हो।

उक्त बस बैतडी पाटन नगरपालिका–०८ निवासी ३७ वर्षीय केशव सिंह महराले चलाएका थिए।
दुर्घटनामा दशरथचन्द नगरपालिका–०६ निवासी ३५ वर्षीय वीरेन्द्र बहादुर चन्दको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बसमा चालकसहित १२ जना सवार रहेका थिए। दुर्घटनामा चालक भने सकुशल रहेका छन् भने अन्य १० जना यात्रु घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। उपचाररत घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यात्रुवाहक सवारी साधन दुर्घटनाको यो घटनाले पुनः सडक सुरक्षाप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।