राजविराज, सप्तरी : जिल्ला प्रहरी कार्यालय सप्तरीले अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगसम्बन्धी गम्भीर घटनामा संलग्न रहेको आरोपमा ५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मिति २०८२ माघ ४ गते साँझ करिब ७ बजे सिरहाको लहान नगरपालिका–१० निवासी ४७ वर्षीय मो. सदाम र ६० वर्षीय मो. ताहिर मियाँ सप्तरीको खडक नगरपालिका–५ खरचुहियास्थित मिना खातुनको घरमा जमिन खरिदका लागि पुगेका थिए । सोही क्रममा मिना खातुनसहितको समूहले उनीहरूलाई योजनाबद्ध रूपमा अपहरण गरी शरीर बन्धक बनाएको, साथमा रहेको रकम लुटपाट गरेको तथा गोली प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको संयुक्त प्रहरी टोलीले वैशाख २३ र २४ गते पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सप्तरी रुपनी गाउँपालिका–५ निवासी ४३ वर्षीय हजरत मियाँ, राजगढ गाउँपालिका–६ निवासी ४५ वर्षीय मंजिद मियाँ, खडक नगरपालिका–५ खरचुहियाकी ४२ वर्षीया मिना खातुन, खडक नगरपालिका–६ विरपुर निवासी ४८ वर्षीय मो. मुमताज मियाँ तथा सुरुङ्गा नगरपालिका–३ निवासी ३५ वर्षीय उपेन्द्र मोची रहेका छन् ।
प्रहरीको Crime and Criminal Information System (CCIS) अभिलेखअनुसार पक्राउ परेका मो. मुमताज मियाँमाथि विभिन्न मितिमा दर्ता भएका १३ वटा ठगीसम्बन्धी मुद्दा रहेको खुलेको छ । त्यस्तै उपेन्द्र मोचीमाथि ज्यानसम्बन्धी कसुरको मुद्दा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनालाई गम्भीर आपराधिक योजनाका रूपमा हेरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी डम्बर बहादुर पुरीले घटनामा अन्य व्यक्तिको संलग्नता भए नभएको विषयमा समेत अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।