करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी, जेठ १६ गते ।

कैलाश माझी : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

शनिबार बिहान करिब ६ः३० बजे हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी बाँधदेखि करिब १.५ किलोमिटर पूर्वमा रहेको तिरपित नारायण झाको खेतमा पानी तान्ने मोटर जडान गर्ने क्रममा स्थानीय सहदेव लौगीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक हनुमाननगर कंकालिनी नगरपालिका–१ निवासी रवि लौगीका करिब ५५ वर्षीय छोरा सहदेव लौगी रहेका छन्। खेतमा सिँचाइका लागि मोटर जडान गर्ने क्रममा अचानक मोटरबाट विद्युत् प्रवाह भई उनलाई करेन्ट लागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाबारे बिहान करिब ८ः४० बजे सम्बन्धित वडाका वडा अध्यक्षमार्फत इलाका प्रहरी कार्यालय भारदह, सप्तरीलाई जानकारी गराइएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। मृतकको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।