सप्तकोशीबाट बरामद ९ किलो २७५ ग्राम गाँजा नष्ट, तीन जनामाथि अनुसन्धान जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सप्तरी, असोज २३ गते ।

कैलाश माझी : सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित पेट्रोल पम्प नजिकबाट बरामद गरिएको ९ किलो २७५ ग्राम गाँजा जस्तो देखिने पदार्थ प्रहरीले नष्ट गरेको छ। उक्त पदार्थ ओसारपसारमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनामाथि सप्तरी जिल्ला अदालतबाट तीन पटक म्याद थप गरी अनुसन्धान भइरहेको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीका प्रहरी निरीक्षक प्रदीप मगरका अनुसार २०८३ असोज १४ गते बिहान करिब १० बजे फत्तेपुर–कञ्चनपुर सडकखण्डमा प्रदेश ३०२–००८ प ७०४८ नम्बरको मोटरसाइकलसहित रहेका व्यक्तिहरूबाट उक्त पदार्थ बरामद गरिएको थियो।

झोलासहित तौल गर्दा १० किलो २६० ग्राम र झोला हटाएर तौल गर्दा ९ किलो २७५ ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

यस घटनामा सप्तकोशी नगरपालिका–१० सन्तपुरका करिब ५० वर्षीय उपेन्द्र यादव, महदेवा गाउँपालिका–३ का करिब २५ वर्षीय ललित कुमार यादव र कञ्चनरूप नगरपालिका–८ का करिब ३२ वर्षीय शिवनारायण यादव पक्राउ परेका छन्।

प्रहरी निरीक्षक मगरका अनुसार पक्राउ परेका तीनै जनालाई सप्तरी जिल्ला अदालतबाट पहिलो पटक पाँच दिन, दोस्रो पटक दुई दिन र तेस्रो पटक १० दिन गरी तीन पटक म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले बरामद गरेको उक्त पदार्थ इलाका प्रहरी कार्यालय कञ्चनपुरको पूर्व र उत्तर दिशातर्फको कुनामा आगो लगाएर नष्ट गरेको जनाएको छ। उक्त पदार्थ नष्ट गर्ने क्रममा पत्रकार कैलाश माझीसमेत उपस्थित थिए।

घटनामा प्रयोग भएको मोटरसाइकल तथा पक्राउ परेका व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।