असोज २३ गते कांग्रेस महाधिवेशनको निर्वाचन, प्रतिनिधिलाई आवश्यक आवास र भोजनको प्रबन्ध गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ललितपुर । नेपाली कांग्रेसको महाधिवेशन एक दिन लम्बिएपछि मर्कामा परेका महाधिवेशन प्रतिनिधिका लागि आवास तथा भोजनको थप व्यवस्था गरिने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले असोज २२ गते जारी गरेको सूचनाअनुसार निर्वाचन समितिले असोज २३ गते बिहान ७ बजेदेखि अपराह्न ३ बजेसम्म निर्वाचन गर्ने गरी कार्यक्रम परिमार्जन गरेपछि त्यसबाट पर्ने असरलाई ध्यानमा राख्दै प्रतिनिधिका लागि आवश्यक व्यवस्थापन गर्ने निर्णय गरिएको हो।

केन्द्रीय कार्यालयका अनुसार एक दिन अधिवेशन सर्दा आवासको समस्या परेका प्रतिनिधिले आफ्नो क्षेत्रका क्षेत्रीय सभापतिमार्फत असोज २२ गते साँझ वा असोज २३ गते बिहान केन्द्रीय कार्यालयमा रहेको डेस्कमा सम्पर्क गर्नुपर्नेछ। त्यसपछि आवश्यकताअनुसार आवासको व्यवस्थापन गरिने जनाइएको छ।

त्यस्तै, भोजनतर्फ असोज २२ गते साँझसम्म पूर्वनिर्धारित कार्यक्रमअनुसार व्यवस्था यथावत् रहनेछ। थपिएको एक दिनको समयावधिलाई ध्यानमा राख्दै आवश्यकताअनुसार भोजनको व्यवस्था भृकुटीमण्डपमा नै गरिने कांग्रेसले जनाएको छ।

महाधिवेशनको निर्धारित कार्यक्रमभन्दा थप एक दिन समय लम्बिँदा प्रतिनिधिलाई परेको असहजतालाई परिस्थितिको बाध्यताका रूपमा लिएर निर्वाचन प्रक्रियामा एकताबद्ध भएर सहभागी हुन कांग्रेस सभापति गगनकुमार थापाले सबै महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनामा प्रतिनिधिहरूलाई भोलि बिहानैदेखि निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।