सप्तरी, राजविराज : जिल्ला प्रहरी कार्यालय सप्तरीअन्तर्गत इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले अवैध रूपमा ओसारपसार भइरहेको सालको काठसहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मिति २०८३ साल वैशाख १९ गते दिउँसो करिब २:३० बजे खटिएको गस्ती टोलीले खडक नगरपालिका–८ बिसनपुर चोकस्थित पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा स.१ त ३९०२ नम्बरको ट्याक्टर शंकास्पद अवस्थामा फेला पारेको थियो। जाँच गर्ने क्रममा ट्याक्टरमा बेवारिसे अवस्थामा राखिएको ३ थान सालको काठ (गोलिया) बरामद गरिएको हो।
बरामद गरिएको काठसहित ट्याक्टरलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा ल्याई राखिएको थियो। त्यसपछि सव–डिभिजन वन कार्यालय कल्याणपुरका प्राविधिक टोलीलाई बोलाई नापजाँच गर्दा ३ थान सालको काठको जम्मा परिमाण ८० क्युफिट रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
उक्त काठको मूल्य करिब २ लाख ४० हजार रुपैयाँ र ट्याक्टरको मूल्य करिब ६ लाख रुपैयाँ गरी कुल ८ लाख ४० हजार रुपैयाँ बराबरको सामान बरामद भएको छ।
प्रहरीले मिति २०८३ साल वैशाख २० गते काठसहित ट्याक्टरलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सव–डिभिजन वन कार्यालय कल्याणपुरमा बुझाएको जनाएको छ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले कानुन विपरीत वन पैदावार ओसारपसार गर्ने कार्यविरुद्ध प्रहरीको निगरानी कडा बनाइएको बताएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।