सप्तरी । प्रहरीमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको अभियोगमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिका–६ निवासी २१ वर्षीय लालु कुमार चौधरी र २२ वर्षीय विशाल चौधरीलाई पक्राउ गरिएको हो ।
मिति २०८२ कार्तिक १९ गते साँझ बजार गस्ती ड्युटी सकेर वर्दीमै आफ्नो क्वाटरतर्फ फर्कँदै गरेका प्रहरी जवान दिपक साह सोनारमाथि ती दुई जनाले गालीगलौज गर्दै कुटपिट गरेको प्रहरीले जनाएको छ । उक्त घटनामा जवान सोनार घाइते भएका छन् ।
घटनापछि प्रहरी टोलीले तत्कालै दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको थियो ।
पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट उनीहरूका लागि ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको बताइएको छ ।
घाइते प्रहरी जवानको अहिले उपचार भइरहेको प्रहरी अधिकृत प्र.नि. प्रमोद कुमार साहले जानकारी दिएका छन्
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।