१९ कार्तिक
सप्तरी, तिहार सकिएसँगै राजधानीलगायत तराइका जिल्लामा छठको तयारी तीव्र परिएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरीको बागमती किनारमा आकर्षक रुपमा छठ घाट निर्माण कार्य शुरु भएको छ।गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठ घाट अर्थात् पूजा स्थल निर्माण भइरहेको छ। यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजा स्थल निर्माण सुरु गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ ।तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ । एउटा छठ घाट पूजाका लागि एक हजार एक सय समितिले शुल्क लिने गरेको छ ।
छठका लागि आवश्यक तयारीको खर्च जुटाउन शुल्क लिने गरिएको हो । विगत वर्षमा पशुपति क्षेत्र विकास कोषले पनि गुह्येश्वरी गौरीघाट छठ पूजा समितिलाई ६ लाख सहयोग गर्ने गरेको थियो। यस वर्ष पनि सहयोग गर्ने वाचा गरेको समितिले जनाएको छ । यसैगरी कमलपोखरी, नागपोखरी लगायत स्थानमा पनि छठ मनाउन छठ घाट निर्माण भइरहेको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ मनाइन्छ। छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै शुरु हुने बताइन्छ। छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ।
कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन्। यसलाई पनि छठको एउटा विधिका रुपमा लिइन्छ। बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । यस वर्ष यही कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ। भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ। कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको छ। अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रुपमासमेत उपयोग गरिँदै आएको छ। पछिल्लो समय काठमाडौँलगायत पहाडी जिल्लामासमेत धुमधामका साथ छठ पर्व मनाउन थालिएको छ ।
यस्तै जनकपुरधामका पोखरीहरुलाई सजाउने काम अन्तिम चरणमा पुगेको छ । भने पोखरी नभएको ठाउँमा नदी, कुवा लगायतको पानीको स्रोत भएको स्थानलाई सफा गरी सजाइएको छ। गंगासागरमा तीनवटा समितिले छठको तयारी गरिरहेको छ। गंगासागर छठ पूजा समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतभन्दा यो वर्ष सजावटमा वृद्धि गरेको बताए।उनले छठ घाटमा अर्घ लिएर आउने श्रद्धालुहरूका लागि घाटमा नम्बरिंग गरिएको बताए। गुप्ताले पछिल्लो ३ वर्ष प्रति अर्घ ५५१ रुपैयाँ निर्धारण गरिएकोमा यो वर्ष ५ सय रुपैयाँ निर्धारण गरिएको जानकारी दिए ।गंगासागरमा गंगासागर छठ पूजा समिति, जनक युवा क्लब र बजरंज युवा क्लबले छठको तयारी गर्नेगरेको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।