सर्लाही, साउन २।
कैलाश माझी : सर्लाही प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कौडेना गाउँपालिका–१ सुकचैनास्थित विभिन्न घर तथा स्थानमा लागूऔषधको बेचबिखन तथा भण्डारण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले छापा मार्दा २१ वटा बोरामा प्याक गरिएको ४१९.९३ किलोग्राम गाँजा बरामद गरेको हो।
बरामद गरिएको गाँजासँगै प्रहरीले ४ थान डिजिटल नापतौल मेसिन र १ थान सानो तराजु समेत नियन्त्रणमा लिएको छ।
घटनामा संलग्न रहेको आरोपमा कौडेना गाउँपालिका–१ सुकचैनाका २५ वर्षीय राहुल राउत र ४६ वर्षीय महादेव राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।