नविन यादव निर्भय,सप्तरी : आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सप्तरी जिल्लामा नेपाली सेनाको औपचारिक परिचालन सुरु गरिएको छ। बुधबारदेखि नेपाली सेना सक्रिय रूपमा मैदानमा उत्रिएसँगै जिल्लाका संवेदनशील तथा रणनीतिक क्षेत्रहरूमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।
सप्तरीमा तैनाथ नेपाली सेनाको श्री बरख गणले निर्वाचन अवधिभर शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्ने जिम्मेवारीसहित विभिन्न स्थानमा सुरक्षा निगरानी तीव्र बनाएको जनाएको छ। मतदाताहरूले कुनै पनि डर, दबाब वा अवरोधबिना आफ्नो मताधिकार प्रयोग गर्न सकून् भन्ने लक्ष्यका साथ सेना परिचालित गरिएको हो।
निर्वाचनजस्तो संवेदनशील राष्ट्रिय प्रक्रियामा नेपाली सेनाको उपस्थितिलाई स्थायित्व र सुरक्षाको भरोसायोग्य आधारका रूपमा हेरिएको छ। विगतमा प्राकृतिक विपद्, राष्ट्रिय संकट तथा विशेष सुरक्षा जिम्मेवारीमा अनुशासन, व्यावसायिक दक्षता र राष्ट्रप्रतिको निष्ठा प्रदर्शन गर्दै आएको नेपाली सेनाले यसपटक पनि निर्वाचन सुरक्षामा संयमित र दृढ भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।
सुरक्षा निकायहरूबीच निरन्तर समन्वय कायम गर्दै कुनै पनि किसिमका अवाञ्छित गतिविधि, अराजकता वा सुरक्षा चुनौतीलाई समयमै नियन्त्रण गर्ने तयारीमा सेना रहेको स्रोतले जनाएको छ। यसैबीच जिल्लावासीलाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन सम्बन्धित निकायले आह्वान गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।