सप्तरी — सप्तरीमा लागूऔषध कारोबारविरुद्धको कारबाहीका क्रममा ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार २०८२ साल पौष ११ गते अपराह्न करिब ४ः३० बजे गोप्य सूचनाको आधारमा प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित तोपा बजारमा भारदहबाट राजविराजतर्फ आउँदै गरेको प्र.१–०४–००१ ज ००४५ नम्बरको कार शंका लागि चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा कारभित्र सवार व्यक्तिहरूको शरीर तलासी गर्दा मोरङ विराटनगर महानगरपालिका–४ निवासी ३२ वर्षीय अनुरुध निरौलाको हुडीभित्र लुकाई राखिएको सेतो प्लास्टिकका दुई पोका ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद लागूऔषधको तौल २०५ ग्राम ८२ मिलिग्राम रहेको छ।
प्रहरीले लागूऔषधसहित कार नियन्त्रणमा लिई चालकसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका–१७ निवासी ३७ वर्षीय चालक रजप आलम, विराटनगर–४ निवासी ३२ वर्षीय अनुरुध निरौला र सोही स्थान निवासी २१ वर्षीय निकेश कुमार वर्मा रहेका छन्।
पक्राउ परेकाहरूमाथि लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको र सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइने र यस्ता अवैध गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने बताएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।