कैलाश माझी,सप्तकोशी : सप्तकोशी नगरपालिकाले बढ्दो चिसो र शीतलहरका कारण नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो विदा दिने निर्णय गरेको छ।
नगर कार्यपालिकाको मिति २०८२ साल पौष १५ गते बसेको बैठकको निर्णयअनुसार पौष १६ गतेदेखि पौष २० गतेसम्म विद्यालयमा नियमित पठनपाठन बन्द रहने शिक्षा शाखाले जनाएको छ। उक्त अवधिको विदा हिउँदे तथा वर्षे विदाबाट ४ दिन कट्टा हुने गरी मिलान गरिनेछ।
पछिल्ला केही दिनदेखि तापक्रम अत्यधिक घट्दै गएको र चिसोका कारण विद्यार्थीहरूमा स्वास्थ्यसम्बन्धी जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै यो निर्णय लिइएको नगरपालिकाले स्पष्ट पारेको छ।
जाडो विदाको अवधिमा विद्यालयको प्रशासनिक काम भने यथावत् सञ्चालन हुने जनाइएको छ। नियमित कक्षाहरू मात्र बन्द रहने शिक्षा शाखाले जानकारी दिएको छ।
शिक्षा अधिकृत जयप्रकाश आनन्द चौधरीद्वारा जारी सूचनाअनुसार सम्बन्धित सबै विद्यालयहरूलाई यस निर्णयको पूर्ण पालना गर्न अनुरोध गरिएको छ। साथै उक्त सूचना नगरपालिकाको वेबसाइटमा समेत अपलोड गर्न सूचना तथा प्रविधि शाखालाई बोधार्थ पठाइएको छ।
चिसो बढ्दै गइरहेको अवस्थामा नगरपालिकाको यो निर्णयले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।