रौतहट, साउन २।
कैलाश माझी : रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले दुईवटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्।
जनकपुरबाट गरुडातर्फ आउँदै गरेको म.प्र.०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ जाँदै गरेका बा.प्र.०३–००१ ख ५२८४ र बा.प्र.०३–००१ ख ३६६० नम्बरका यात्रुवाहक बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करको प्रभावले बा.प्र.०३–००१ ख ३६६० नम्बरको बस सडकमा पल्टिएको थियो।
दुर्घटनामा ट्रकका सहचालक धनुषाधाम नगरपालिका–९ धनुषाका करिब ६० वर्षीय लालबहादुर तामाङ, बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिकाका ४३ वर्षीय विकास पौडेल, सुनसरीका ४५ वर्षीय प्रदीप खड्का, इनरुवा नगरपालिका–२ सुनसरीकी ५७ वर्षीया निर्मला देवी गुप्ता, मोरङ सुन्दरहरैँचा–५ हरैताकी ४६ वर्षीया रितु वर्ण कार्की, ४४ वर्षीय मेघराज कार्की, इटहरी उपमहानगरपालिकाका ३२ वर्षीय सफल मगर तथा ५४ वर्षीया दिलमाया कार्की घाइते भएका छन्।
घाइतेमध्ये अधिकांशको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक उपचारका लागि चपुरस्थित सिमन्त हाईवे अस्पताल पुर्याइएका सफल मगर भने उपचारकै क्रममा आफ्नै इच्छाले अस्पतालबाट हिँडेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक चालक महोत्तरीको बर्दिबास नगरपालिका निवासी करिब ३५ वर्षीय लालबहादुर मगरले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।