राजविराज कारागारमा तनाव: ‘५ लाख घुस’ आरोपपछि विवाद चर्कियो, आत्मदाहको प्रयास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज, साउन २।

कैलाश माझी : सप्तरीको राजविराज कारागारमा शनिबार कैदीबन्दीबीच विवाद चर्किँदा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको छ। चौकीदार नियुक्तिको विषयमा उठेको विवादले उग्र रूप लिएपछि केही कैदीबन्दीले आत्मदाहको प्रयाससमेत गरेका छन्।

कारागार स्रोतका अनुसार राजविराज नगरपालिका–१५ मुसहरनियाका कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई कारागारको चौकीदार बनाइदिने प्रलोभन देखाई हालका चौकीदार कामेश्वर यादवले ५ लाख रुपैयाँ घुस लिएको आरोप लगाएका छन्। साहका अनुसार गत जेठ ५ गते कारागार बाहिरका एक व्यक्तिमार्फत जेलर मण्डलको नाममा उक्त रकम लिइएको थियो।

यो आरोप सार्वजनिक भएसँगै कारागारभित्र कैदीबन्दीबीच तीव्र विवाद उत्पन्न भएको थियो। विवाद बढ्दै गएपछि कारागार प्रशासनले सुरक्षा व्यवस्था कडा पार्न प्रहरी परिचालन गरेको थियो। प्रहरी कारागारभित्र प्रवेश गर्न खोजेपछि केही कैदीबन्दीले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। यद्यपि समयमै सम्झाइबुझाइ गरिएकाले कुनै मानवीय क्षति हुन नपाएको जनाइएको छ।

घटनापछि कारागार परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा परिचालन गरिएको छ। सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सञ्चारकर्मीलाई घटनास्थलमा प्रवेश गरी समाचार सङ्कलन गर्नसमेत रोक लगाइएको थियो।

यता, रकम असुलीको आरोपपछि चौकीदार कामेश्वर यादवलाई झुम्का कारागार सरुवा गर्ने तयारी भएको विषयले पनि कैदीबन्दीबीच असन्तुष्टि बढेको बताइएको छ। सोही क्रममा केही कैदीमाथि कुटपिटसमेत भएको स्रोतले जनाएको छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले कारागारमा केही समय तनाव उत्पन्न भएको पुष्टि गर्दै कैदीबन्दीहरूलाई सम्झाइबुझाइ गरेपछि अवस्था अहिले सामान्य बनेको जानकारी दिए। उनका अनुसार कारागारको शान्ति–सुरक्षा कायम गर्न प्रहरी परिचालन गरिएको थियो र त्यसक्रममा केही कैदीबन्दीले शरीरमा मट्टीतेल खन्याएका थिए।

प्रारम्भिक जानकारीअनुसार कारागारभित्र कैदीबन्दीलाई समान व्यवहार नगरिएको तथा चौकीदार नियुक्तिमा आर्थिक चलखेल भएको आरोपका कारण विवाद चर्किएको बताइएको छ। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।