कैलाश माझी, सप्तकोशी – मधेस प्रदेश सरकार अन्तर्गतको उर्जा, सिचाइ तथा खानेपानी मन्त्रालय, जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय राजविराजबाट सप्तकोशी नगरपालिका–११ मा निर्माणाधीन जाली क्रेटिङको काममा गम्भीर अनियमितता भएको स्थानीयको आरोप छ।
वडा नं. ११ स्थित पुरानो गंगाजली खोलामा करिब ४६ लाख रुपैयाँ लागतको बजेटमा जाली क्रेटिङ निर्माण भइरहेको छ। तर निर्माण कार्य सूचना बोर्ड विना र इस्टिमेट विपरीत भइरहेको पाइएको छ। ठेकेदारको नाम सार्वजनिक नगरिएको र योजना पारदर्शिता विहीन ढंगले संचालन भएको जनगुनासो छ।
वडाध्यक्ष डोलेश्वर खडगाका अनुसार,
“प्रदेश सरकारबाट आएको योजनाबारे विस्तृत जानकारी नगरपालिकालाई समेत उपलब्ध छैन। सूचना बोर्ड नराखिएको र इस्टिमेट प्रमाणित नभएको हुँदा काममा पारदर्शिता देखिँदैन।”
स्थानीयका अनुसार, इस्टिमेटमा उल्लेख भएअनुसार ठूला ढुङ्गा प्रयोग गर्नुपर्नेमा स-साना नदीका ढुङ्गा प्रयोग गरिएको छ। यसले निर्माणको गुणस्तरमा प्रश्न उठाएको छ।
“सरसामानको गुणस्तर मिल्दैन, ढुङ्गा हेर्दा स्पष्ट हुन्छ – गुणस्तरीय निर्माण होइन, बजेट हिनामिना गर्ने खेल हो,” एक स्थानीय अगुवाले भने।
सार्वजनिक खरिद ऐन अनुसार योजना सम्बन्धी सूचना खुला गर्नुपर्नेमा योजनाको विवरण गोप्य राखिएको भन्दै स्थानीयवासी आक्रोशित छन्। उनीहरूले नगरपालिकासँग योजनाको पूर्ण विवरण सार्वजनिक गर्न, निर्माण कार्य तत्काल रोक्न र छानबिन समिति गठन गर्न माग गरेका छन्।
यदि सम्बन्धित निकायले समयमा नै गम्भीर रूपमा कारबाही नगरेमा, यस्तो लापरवाहीले जनताको करको पैसा माटोमा गाड्ने परिपाटी दोहोरिने स्थानीयको चिन्ता छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।