सप्तकोशी, भदौ २५
सप्तकोशी : देशभरका युवाहरूले आरम्भ गरेको Gen Z आन्दोलन आज न्याय, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको मागको रूपमा व्यापक हुँदै गएको छ। युवाहरूले सडकदेखि सामाजिक सञ्जालसम्म सत्य र जवाफदेहीता मागिरहेका बेला केही राजनीतिक दलका कार्यकर्ताहरू भने यो आन्दोलनलाई आफ्ना स्वार्थ पूरा गर्ने साधन बनाउन लागिपरेका छन्।
Gen Z नाम बदनाम गराउने प्रयास
Gen Z आन्दोलन को उदेश्य नबुझेका ८-१० जना कलिला केटाहरुलाइ भकुण्डो बनाउने जनमतका राजिबको राज खुलेपछि थाहा भयो उनिहरुलाइ चाउचाउ र फ्रुटीमा उफारिएको रहेछ। पत्रकारिताको तलबारको धार कति धारिलो हुन्छ बुझेको भए सायद मट्याङ्ग्राको नाश हुँदैनथियो। निर्भीक पत्रकारिता गर्ने सप्तकोशी खबर माथि यस्ता आक्रमण हुनु कुनै संयोग होइन, यो योजनाबद्ध षड्यन्त्र हो भन्ने प्रमाणहरू क्रमशः सार्वजनिक भइरहेका छन्।
झोले कार्यकर्ताहरूसँग हाम्रो चुनौती : प्रमाणसहित आउनुहोस्
हामी स्पष्टसँग भन्छौँ — सप्तकोशी खबर परिवारका कुनै सदस्यले कतै भ्रष्टाचार गरेको ठोस प्रमाण छ भने, हामी कानुनी दायरामा आफैं उपस्थित हुन तयार छौँ। पत्रकारिता गर्ने हामीलाई अफवाह, भ्रम र निराधार आरोपले कत्ति पनि विचलित पार्दैन।
यदि साहस छ भने प्रमाणसहित अगाडि आउनुहोस्। नभए युवाहरूलाई भड्काउने, आन्दोलनलाई भाँड्ने र सत्य बोल्ने कलमलाई दबाउने नियत तत्काल रोक्नुपर्छ। अन्यथा, अब बाँकी सबै कुरा कानुनी प्रक्रियाबाटै अघि बढ्नेछ।
जाली क्रेटिङ प्रकरणपछि सुरु भएको बदनामीको खेल
गत साउन महिनामा प्रदेश सरकारको बजेटबाट निर्माण कार्यमा भएको जाली क्रेटिङ प्रकरण उजागर गर्ने समाचार सप्तकोशी खबरले सम्प्रेषण गरेको थियो। उक्त समाचारमा प्रदेश सरकारको कामकारबाही र जनमत पार्टीको संलग्नतामाथि प्रश्न उठाइएको थियो।
यही समाचारको कारण पार्टीभित्र असहजता बढ्यो। त्यसपछि पार्टीको नेतृत्वसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूले कलम रोक्ने प्रयास सुरु गरे। मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहका स्वकीय सचिव दिलिप खड्गाका भाई राजिव खड्गाले यसरी युवाहरूलाई प्रयोग गर्दै सप्तकोशी खबर लाई बदनाम गराउने गतिविधि सञ्चालन गरेको प्रस्ट देखिन्छ।
राजनीतिमा प्रवेश गराउने दबाब अस्वीकार
यसअघि पनि सप्तकोशी खबर का सदस्यहरूलाई बारम्बार जनमत पार्टीमा प्रवेश गरि राजनीति गर्न दबाब दिइएको थियो। तर, स्वतन्त्र र निष्पक्ष पत्रकारितामा अडिग रही हामीले त्यो प्रस्ताव अस्वीकार गर्यौँ। यही अस्वीकारलाई व्यक्तिगत अपमान ठानेर अहिले उनीहरू विभिन्न षड्यन्त्रमा सक्रिय देखिएका छन्।
पत्रकारिताको धर्म सत्य लेख्नु हो, सत्ता वा स्वार्थको चाकरी गर्नु होइन। यसै कारण हाम्रो अडानबाट असन्तुष्ट बनेका केही व्यक्तिहरू अहिले आन्दोलनलाई भाँड्ने तरिका अपनाइरहेका छन्।
Gen Z आन्दोलन : युवाहरूको जागरण, दलको होइन
Gen Z आन्दोलन युवाहरूको असन्तोष, अधिकार र भविष्य सुरक्षित गर्ने चाहनाबाट जन्मिएको हो। यो कुनै दल वा नेताको स्वार्थमा प्रयोग गर्ने खेलौना होइन।
हामी स्पष्ट रूपमा भन्छौँ — Gen Z आन्दोलन मा हाम्रो पूर्ण साथ र समर्थन रहनेछ। युवाहरूले उठाएको प्रत्येक न्यायसंगत माग हाम्रो कलम र आवाजमा प्रतिबिम्बित हुनेछ। तर यो आन्दोलनलाई दलका कार्यकर्ताले आफ्नो स्वार्थको भर्याङ बनाउन खोजेमा त्यसको घोर प्रतिवाद हुनेछ।
पत्रकारिता दबाउन सकिँदैन
पत्रकारिता लोकतन्त्रको चौथो स्तम्भ हो। पत्रकारिता नै जनताको आँखा, कान र मुख हो। यसलाई धम्की, बदनामी र षड्यन्त्रले दबाउने प्रयास गर्नेहरू अन्ततः जनताकै कठघरामा उभिनुपर्नेछ।
सप्तकोशी खबर सधैं सत्य पक्षमा उभिनेछ, चाहे दबाब जस्तोसुकै किन नहोस्। युवाहरूको आन्दोलनलाई बदनाम गराउन खोज्ने हरेक स्वार्थी खेलको पर्दाफास गर्ने जिम्मेवारी हामीले उठाइरहेका छौँ।
नियतमाथिको प्रश्न
आज युवाहरू सडकमा उत्रिएका छन्, भ्रष्टाचार र अन्यायविरुद्ध प्रश्न गरिरहेका छन्। यो आवाजलाई तोडमोड गर्न खोज्नु भनेको भविष्यलाई अन्धकारमा धकेल्नु हो।
सप्तकोशी खबर हिजो, आज र भोलि पनि सधैं सत्य र निष्पक्ष पत्रकारितामा अडिग रहनेछ। हामीलाई बदनाम गर्न चाहनेहरूसँग हाम्रो एक मात्र माग छ — प्रमाणसहित आउनुहोस्। नभए, युवाहरूको आन्दोलनलाई भाँड्ने राजनीतिक स्वार्थी खेलबाट टाढा रहनुहोस्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।