कैलाश माझी,सप्तरी — बंगलादेशको मयमनसिंह जिल्लामा २७ वर्षीय हिन्दु युवक दिपुचन्द्र दासलाई ईश्वरनिन्दाको आरोप लगाउँदै आक्रोशित भीडले कुटपिट गरी हत्या गरेको घटनाले बंगलादेशमा अल्पसंख्यक समुदायको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। धार्मिक आरोपको नाममा कानून आफ्नै हातमा लिइँदा एक निर्दोष युवाको ज्यान जानु राज्य संयन्त्रको असफलताको प्रत्यक्ष उदाहरण भएको टिप्पणी हुन थालेको छ।
प्रारम्भिक विवरणअनुसार भीडले दिपुचन्द्र दासमाथि निर्घात कुटपिट गरेपछि उनी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइए पनि उपचारकै क्रममा मृत्यु भएको हो। घटनापछि बंगलादेशभरि हिन्दु समुदायमा भय, आक्रोश र असुरक्षाको भावना फैलिएको छ।
घटनामा संलग्न आरोपमा र्यापिड एक्सन बटालियन (आरएबी) ले सात जना तथा प्रहरीले अन्य तीन जना गरी कम्तीमा १० जना संदिग्धलाई पक्राउ गरेको जनाएको छ। पक्राउ गरिएको विषयलाई बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा पुष्टि गरेका छन्। तर पक्राउ मात्र पर्याप्त नभई दोषीमाथि कठोर सजाय हुनुपर्ने आवाज बलियो बन्दै गएको छ।
मानवअधिकारकर्मीहरूका अनुसार धार्मिक आरोपको नाममा भीडद्वारा गरिने यस्ता आक्रमणहरू बंगलादेशमा बढ्दो क्रममा देखिन थालेका छन्, जसले अल्पसंख्यक समुदायलाई निरन्तर असुरक्षित बनाइरहेको छ। यस घटनालाई धार्मिक असहिष्णुता, उग्रवाद र कानूनको शासनमाथिको गम्भीर चुनौतीका रूपमा लिइएको छ।
घटनाको कडा शब्दमा निन्दा गर्दै बंगलादेश हिन्दु बौद्ध क्रिश्चियन एकता परिषद्ले दोषीलाई कडाभन्दा कडा सजाय दिन तथा अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। परिषद्ले राज्य मौन बसिरहे अल्पसंख्यकमाथिको हिंसा झनै बढ्ने चेतावनीसमेत दिएको छ।
यही घटनाको विरोधमा नेपालमा पनि आवाज उठ्न थालेको छ। बंगलादेशमा हिन्दु युवकको हत्या र अल्पसंख्यकमाथि भइरहेको हिंसाविरुद्ध सप्तरीको सप्तकोशी नगरपालिका–४ स्थित बलार्दह चोकमा हिन्दुवादी युवाहरूले कडा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले बंगलादेशमा भइरहेको हत्या, आक्रमण, दमन र मानवअधिकार उल्लङ्घन तत्काल रोक्न माग गर्दै चर्को नाराबाजी गरेका थिए।
प्रदर्शनका क्रममा सहभागी युवाहरूले बंगलादेश सरकार, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मानवअधिकार संस्था तथा विश्व समुदायलाई मौन नबस्न आग्रह गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि उदाहरणीय कारबाही गर्न माग गरेका छन्। उनीहरूले धार्मिक सहिष्णुता र अल्पसंख्यक अधिकारको रक्षा विश्वव्यापी जिम्मेवारी भएको बताएका छन्।
स्थानीय प्रशासनको निगरानीमा प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि बलार्दह चोक केही समय तनावग्रस्त बनेको थियो। प्रदर्शनकारीहरूले यदि यस्ता घटनामा अन्तर्राष्ट्रियस्तरबाट दबाब नबढाइए आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिएका छन्।
बंगलादेशमा पछिल्ला समय अल्पसंख्यक समुदायमाथि भइरहेका हिंसात्मक घटनाहरूले दक्षिण एशियामै धार्मिक सहअस्तित्व, मानवअधिकार र कानूनको शासनप्रति गम्भीर बहस सुरु गराएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।