आरक्षको लापरबाहीले कञ्चनरुपमा बढ्यो गैंडाको आतंक, स्थानीय त्रसित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी, कञ्चनरुप, साउन २।

कैलाश माझी : कोशी टप्पु वन्यजन्तु आरक्षको व्यवस्थापनमा देखिएको कमजोरीका कारण संरक्षणका लागि राखिएका गैंडाहरू पटक–पटक मानव बस्तीमा प्रवेश गर्न थालेपछि कञ्चनरुप क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन्। आरक्षको जीर्ण घेराबेरा र कमजोर सुरक्षा व्यवस्थाले स्थानीयको जिउधन नै जोखिममा परेको भन्दै तत्काल सुधारको माग उठ्न थालेको छ।

वि.सं. २०८० सालमा चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी कोशी टप्पु वन्यजन्तु आरक्षको पथरी सेक्टरमा ल्याइएका ‘पुष्पा’ र ‘अञ्जली’ नामका दुई पोथी गैंडा पछिल्लो समय बारम्बार आरक्षबाट बाहिर निस्केर गाउँ पस्न थालेका हुन्।

शनिबार बिहान करिब ४ बजे एउटा गैंडा आरक्षको घेरा पार गर्दै गाउँ हुँदै कञ्चनपुर बेरियर्सम्म पुगेपछि स्थानीयमा त्रास फैलिएको थियो। बिहानै गैंडा बस्तीमा देखिएपछि बालबालिका, महिला र ज्येष्ठ नागरिक सुरक्षित स्थानतर्फ भाग्न बाध्य भएका थिए। पछि पथरी सेक्टरका कर्मचारी र इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गैंडालाई नियन्त्रणमा लिएर पुनः आरक्षभित्र फर्काएको थियो।

स्थानीयवासीका अनुसार गैंडा राखिएको गोठको ढोका, तारबार र जाली लामो समयदेखि भत्किएको अवस्थामा रहे पनि आरक्ष प्रशासनले त्यसको मर्मतमा कुनै चासो दिएको छैन। यही कारण गैंडाहरू सहजै बाहिर निस्कने गरेको उनीहरूको आरोप छ।

पथरी सेक्टरका एक कर्मचारीले पनि व्यवस्थापनमा कमजोरी रहेको स्वीकार गर्दै गैंडा राख्ने संरचनाको मर्मतका लागि पटक–पटक माथिल्लो निकायलाई जानकारी गराउँदा पनि बेवास्ता गरिएको बताएका छन्।

यता, कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत वीरेन्द्र गौतमले भने केही स्थानीयले घाँस–दाउरा ल्याउने क्रममा आरक्षको तारबार काट्ने गरेका कारण गैंडा बाहिर निस्कने गरेको दाबी गरेका छन्। वन्यजन्तु संरक्षण र तारबारको सुरक्षामा स्थानीयको पनि भूमिका रहने उनको भनाइ छ।

तर स्थानीयले भने आरक्ष प्रशासनले आफ्नै कमजोरी ढाकछोप गर्न समुदायमाथि दोष थोपरेको आरोप लगाएका छन्। उनीहरूले तत्काल भत्किएको घेराबेरा मर्मत, सुरक्षा व्यवस्था प्रभावकारी बनाउने, नियमित निगरानी बढाउने तथा बस्तीलाई वन्यजन्तुको जोखिमबाट सुरक्षित बनाउन ठोस कदम चाल्न सरकारसँग माग गरेका छन्।

स्थानीयको भनाइ छ, समयमै आरक्षको व्यवस्थापन सुधार नगरे कुनै दिन ठूलो मानवीय क्षति हुन सक्ने जोखिम बढ्दै गएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।