त्रिभुवन विमानस्थलको अध्यागमन प्रमुखबाट गृह मन्त्रालय तानिएका सहसचिव भट्टराई पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराई हिजो बेलुका गृह मन्त्रालयमा सरुवा भएकामा आज अख्तियारको टोलीले पक्राउ गरी टङ्गालमा रहेको कार्यालयमा लगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेकाे अध्यागमन कार्यालयमा प्रमुख हुँदा मानव तस्करको गिरोहसँग साँठगाँठ रहेको केही प्रमाणहरू फेला परेपछि पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ ।

सहसचिव भट्टराईले नेपालबाट भिजिट भिसामा दुबईलगायतका देशमा जानेबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेपछि अख्तियारले विमानस्थलमा छापा मार्ने तयारी गरेकोमा त्यसको सूचना पाएपछि गृह मन्त्रालयले हिजो हतारहतार सरुवा गरेको हो । दैनिक चार सय जनासम्मलाई भिजिट भिसामा पठाएर प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म रकम असुल्ने गरेको उजुरीसमेत अख्तियारमा परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेर केही कागजातहरू नियन्त्रणमा लिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।