सप्तरीमा छात्रामाथी ज्यान मार्ने प्रयास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१३ मंसिर बिहिवार 

सप्तरी :सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ गंगापुरकी एक छात्रामाथि अज्ञात समूहले ज्यान मार्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ। पीडितको अनुसार, उनी मिति मङ्सिर १२ गते बिहान ५:१५ बजे आफ्नो घरबाट अध्ययन गर्नका लागि भारदहस्थित रोयल सेकेन्डरी बोर्डिङ स्कूल जाँदै थिइन्। विद्यालयबाट झन्डै १५० मिटर पश्चिमतर्फको बाटोमा अज्ञात समूहले उनलाई रोकी गलामा डोरी बाँधेर चौराले कुटपिट गर्न थाले।

पीडितले घटनाको विवरण दिँदै आक्रमणकारी समूहबाट एकजना व्यक्तिले "यो केटी होइन?" भनेर सोधपुछ गरेपछि उनलाई छोडेर समूह फरार भएको बताइन्। घटनापछि पीडितको गालामा गम्भीर चोट लागेको छ, जसका कारण उनी सामान्य हिँडडुल गर्नसमेत असमर्थ भएकी छिन्।

घटनाले स्थानीय बासिन्दामा त्रास फैलाएको छ। पीडित परिवार र स्थानीयवासीले अपराधीलाई खोजी गरी कानुनी कारबाही गर्न माग गरेका छन्। स्थानीयले यसअघि पनि क्षेत्रमै यस्ता आपराधिक क्रियाकलापहरू भएको भन्दै सुरक्षा प्रवन्ध कडा पार्न आग्रह गरेका छन्।

प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको र अपराधीहरूको पहिचान गर्न प्रयास भइरहेको जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार, घटना योजनाबद्ध देखिएको अनुमान गरिएको छ। यस प्रकारको घटना पुनः नदोहरियोस् भन्नका लागि स्थानीय प्रशासनले उचित कदम चाल्ने आश्वासन दिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।