२१ मंसिर
राजविराज: सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ का नवनिर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। बुधबार आयोजित पदस्थापन कार्यक्रमकै मञ्चबाट उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार, साहमाथि स्थानीय एक युवतीको हत्या र सोही युवतीका भाइलाई अपहरण गरेको गम्भीर आरोप लागेको छ। घटनाको अनुसन्धानका लागि उनलाई कल्याणपुर इलाका प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
मङ्सिर १६ गते सम्पन्न उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार साहले ६५२ मतसहित वडाध्यक्षमा विजय हासिल गरेका थिए। तर, जितको केही दिनमै उनीमाथि लागेका आपराधिक आरोपका कारण विवादित बनेका छन्।
सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले घटनाबारे गम्भीर अनुसन्धान भइरहेको बताउँदै यस प्रकरणमा संलग्नता प्रमाणित भएमा आवश्यक कानूनी कारबाही गरिने जानकारी दिए।
घटनाले उपनिर्वाचनको ताजा परिणामसँगै स्थानीय राजनीति र समाजमा ठूलो हलचल मच्चाएको छ। साहमाथिको आरोप र त्यसको कानूनी प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयले अब थप चासो बढाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।