प्रमाणित नभएको इस्टिमेट देखाउँदै पत्रकारलाई भ्रममा पार्ने प्रयास, ठेकेदारमाथि भ्रष्टाचारको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाश माझी, सप्तकोशी – सप्तरीको सप्तकोशी नगरपालिका–२, स्थित गोवरद्धन वैरागी जनता माध्यमिक विद्यालयमा निर्माणाधीन चार कोठे भवन निर्माण कार्यमा ठेकेदार पक्षले पत्रकारलाई प्रमाणित नभएको इस्टिमेट देखाउँदै गलत सूचना दिइरहेको पाइएको छ।

नेपाल सरकार, शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीद्वारा सञ्चालित उक्त योजना अन्तर्गत रु. ५४,५२,२४९.३० लागतमा विद्यालय भवन निर्माणको ठेक्का श्री जानकी कन्स्ट्रक्शन, कोशी गाउँपालिका–३, सुनसरीले पाएको हो।

निर्माण कार्य २०८२ साल असार १५ गते भित्र सम्पन्न गर्नुपर्ने तय गरिएको छ। साइट ओभरसियर राजकुमार यादवका अनुसार निर्माण स्थलमा सूचना बोर्ड राखिएको छ।

तर जब पत्रकार कैलाश माझीले निर्माण सम्बन्धी थप प्राविधिक विवरण र इस्टिमेटबारे जानकारी लिन खोजे, यादवले प्राविधिक प्रमाणीकरण नभएको इस्टिमेट प्रदान गरेका थिए। यता ठेकेदार आनन्द यादव आफैंले पत्रकारको फोनसमेत नउठाई सम्पर्क टारेका छन्।

यस सम्बन्धमा वडा नं. २ का वडाध्यक्ष जाहिर हुसेनसँग बुझ्दा उनले पनि ठेकेदारको व्यवहारप्रति असन्तुष्टि जनाउँदै भने, “हामीले पनि इस्टिमेट माग्दा ठेकेदारले दिएका छैनन्। यो योजनाको विस्तृत विवरण हामीसँग छैन।”

स्थानिय बासिन्दाहरूले ठेकेदार र साइट ओभरसियरको मिलेमतोमा भ्रष्टाचार गर्ने प्रयास भएको आरोप लगाएका छन्। निर्माण सामग्रीको गुणस्तर र पारदर्शितामाथि समेत शंका उठेको छ।

यसरी पत्रकारलाई गलत सूचना दिइनु सूचना अधिकार ऐन २०६४ को उल्लङ्घन मात्र होइन, प्रेस स्वतन्त्रता माथिको अपमान समेत भएको पत्रकार महासंघका सदस्यहरूले बताएका छन्।

यसबारे सम्बन्धित निकाय, आयोजना कार्यालय र प्रदेश मन्त्रालय गम्भीर नहुनु थप शंकाको विषय बनेको छ।

स्थानीयले छानबिन समिति गठन गरी निर्माण कार्यको अनुगमन गर्न माग गरेका छन्। निर्माण कार्य समयमा गुणस्तरीय रूपमा सम्पन्न नहुने हो कि भन्ने चिन्ता बढ्दो छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।