काठमाण्डाै – वर्षासँगै खोलामा पानीको सतह बढेपछि नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गरेको छ । गएको शनिवार रातिसम्म २०० मेगावाट बिजुली आयात भइरहेकोमा उत्पादन बढेपछि प्राधिकरणले आइतवारदेखि निर्यात शुरू गरेको हो ।
आज प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा प्रयोग भएर बाँकी रहेको बिजुली भारतमा निर्यात गर्न थालेको र हिजो १५० मेगावाट निर्यात गरेको जानकारी गराउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले पनि आइतवारदेखि निर्यात शुरू भएकोमा हिजो १५० मेगावाट निर्यात भएको जानकारी दिनुभयो । माग कम हुने समयमा बढी भएको बिजुली निर्यात गरेको उहाँको भनाइ छ ।
प्रवक्ता सिल्पकारका अनुसार अहिले देशमा पिक समयमा १ हजार ९५० मेगावाट बिजुलीकाे माग रहेकोमा १ हजार ९२५ मेगावाट हाराहारीमा बिजुली उत्पादन भइरहेकोले माग सन्तुलनका लागि केही बिजुली आयात पनि भइरहेको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।