कञ्चनरुपको भोडहामा ठगी गर्न आएका दुई भारतीय पक्राउ, नक्कली सुन देखाएर महिलालाई झुक्याउने प्रयास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाश माझी,सप्तरी — सप्तरीको कञ्चनरुप नगरपालिका–१०, भोडहा गाउँमा ठगीको उद्देश्यले प्रवेश गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन्। स्थानीयको सतर्कतामा उनीहरू नियन्त्रणमा लिइएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको हो।

घटनाका अनुसार भोडहा निवासी दुलेखा कर्णको घरमा ड्रमको कब्जा बनाइदिने बहानामा ती दुई व्यक्ति प्रवेश गरेका थिए। घर भित्र पस्नेबित्तिकै उनीहरूले महिलालाई "सुन सफा गरिदिन्छौँ" भन्दै चातुर्यपूर्वक कानको सुन आफैँ निकालेर लुकाए र त्यसको सट्टामा नक्कली सुन फिर्ता दिएका थिए।

महिलालाई शंका लागेपछि ती सुनका गहना परीक्षणका लागि पठाइयो, जसबाट सुन नक्कली रहेको पुष्टि भयो। त्यसपछि स्थानीयले ती दुबै व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरीमा खबर गरेका थिए।

पक्राउ परेका मध्ये एक जनाको नाम प्रमोद शाह रहेको खुलेको छ भने उनीहरू भारतको बदगम्मा क्षेत्रबाट आएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

इलाका प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार दुबैलाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको छ। साथै प्रहरीले यस्ता ठगीका घटनाबाट सतर्क रहनु र अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न सबै स्थानीयलाई आग्रह गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।