कंचनरुप, सप्तरी — सप्तरीको कंचनरुप नगरपालिका–८ स्थित कंचनपुर वेरियरमा सञ्चालनमा रहेको दोस्रो कंचनरुप महोत्सव दिनप्रतिदिन दर्शकको आकर्षणको केन्द्र बन्दै गएको छ। सोही क्रममा महोत्सवको विशेष आकर्षणका रूपमा चर्चित टिकटक स्टार रेविका अधिकारी आइतवार साँझ ६ बजे सांगीतिक प्रस्तुति दिन कंचनपुर आउने भएकी छिन्।
ठिठा पोखरी सुधार समितिको आयोजनामा सञ्चालनमा आएको महोत्सवमा अधिकारीले नेपाली लोक र आधुनिक गीतमा नृत्यमार्फत दर्शकलाई मनोरञ्जन दिने कार्यक्रम तय गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष विकास साहले जानकारी दिए। सामाजिक सञ्जाल विशेषगरी टिकटकमार्फत चर्चामा आएकी अधिकारीको प्रस्तुति हेर्न स्थानीय युवायुवती तथा किशोरकिशोरीहरू उत्साहित देखिएका छन्।
अध्यक्ष साहका अनुसार महोत्सवमा मनोरञ्जनका विविध कार्यक्रमहरू सञ्चालनमा छन्। रोटेपिङ, ढुङ्गापिङ, ड्र्यागन ट्रेन, मिक्की माउसजस्ता रमाइला खेल सामग्रीदेखि लिएर बच्चाहरूका लागि लक्षित रमाइला गेम स्टलहरू महोत्सवमा रहेको उनले बताए। त्यस्तै, व्यापारीक प्रयोजनका लागि राखिएका स्टलहरू, खाद्य सामग्री, स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्रीका गतिविधिहरूले महोत्सवमा थप रौनक थपेको छ।
महोत्सवमा सुरक्षाको पूर्ण व्यवस्था मिलाइएको र कार्यक्रमलाई सभ्य, भव्य र प्रभावकारी बनाउन स्थानीय युवा, स्वयंसेवक तथा सुरक्षाकर्मी सक्रिय रहेको आयोजक समितिको भनाइ छ। स्थानीय कला, संस्कृति, व्यापार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवले स्थानीय उद्यमशीलता र उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।