के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले टोकेपछि हस्यांगफस्याङ गर्दै अस्पताल आइपुगेका थिए । आफ्नो बच्चालाई कुकुरले टोकेको २४ घण्टा पुग्नै लागिसकेकाले रेबिज खोप तुरुन्त लगाउन उनले अनुरोध गरेका थिए । आत्तिनु स्वाभाविक पनि हो किनभने रेबिज एक प्राणघातक सरुवा रोग हो । नेपालमा बीसौँ मानिस यही भाइरसको कारणले मृत्युवरण गर्दै आइरहेको आधिकारिक तथ्यांक पनि छ । हाम्रो समुदायमा रेबिजबिरुद्धको खोप कुकुरले टोकेको २४ घण्टाभित्र लगाई सक्नुपर्छ वा जसरी पनि लगाउनुपर्छ भन्ने व्यापक मान्यता रहेको पाइन्छ । त्यसो भए के कुकुर वा कुनै शंकास्पद रेबिज लागेको/बहुला जनावरले टोकेमा २४ घण्टाभित्र नै रेबिज खोप लगाई सक्नु पर्ने हो त ?

कुकुर वा कुनै शंकास्पद बहुला जनावरले टोकेमा खासगरी रेबिज सङ्क्रमणसँग सम्बन्धित चासो लिएर घाइते चिकित्सकको सम्पर्कमा आउने गर्दछन् र स्वास्थ्यकर्मी/चिकित्सकले पनि रेबिजसम्बन्धी परामर्श वा आवश्यक परे रेबिज विरुद्धको खोप दिने गर्दछन् । रेबिज प्राणघातक सङ्क्रामक रोग हो । नेपालमा रेबिज लक्षण देखिएका कोही पनि बाँचेका/स्वस्थ भएको तथ्यांक छैन । लेखकको झन्डै साढे दुई दशकभन्दा बढीको अनुभवमा अधिकांश रेबिजबाट मृत्यु हुनेमा रेबिज सङ्क्रमित कुकुरको टोकाइबाट भएको देखेको छ । जंगली स्याल, बिरालोको टोकाइबाट पनि मृत्यु भएको छ । तर समग्रमा सङ्क्रमित कुकुरको टोकाइबाट रेबिज लागेर वर्षेनी सयौँ नेपालीले हाल पनि मृत्युवरण गर्नु परेको वा गर्दै आइरहेको अवस्था देखिन्छ । 

जनावरको टोकाइमा बाँदरको टोकाई पनि अग्रपंतिमा नै देखिन्छ तर टोकेपछि रेबिज प्रमाणित भएको नेपालमा भने देखिँदैन । यद्यपि विदेशमा भने फाट्टफुट्ट बाँदरबाट पनि रेबिज पुष्टि भएको पढ्न/सुन्न पाइन्छ । नेपालमा बाँदरको टोकाइबाट मानिसमा रेबिज सरेको प्रमाणित नभएको भएता पनि अरु के कस्तो स्वस्थ समस्या (सङ्क्रमण) देखिन/हुन सक्छ भन्ने बारेमा भने सम्बन्धित निकायले चासो लिनुपर्दछ । शहरमा मन्दिर अनि गाउँघरतिर भए खेतबारी/जंगल जाँदा मानिसलाई बाँदरले टोक्ने गरेको पाइन्छ ।

हाल खोप लगाउने तरिकामा केही परिवर्तन गरिएको छ । तर यो जानकारी सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा बाहेक अरु ठाउँमा खासै पुगेको भने देखिँदैन । सन् २०१७ को अक्टोबरमा विश्व स्वास्थ्य संगठनका विज्ञको बैठकले सन् २०१० को रेबिजसम्बन्धी निर्देशिकालाई प्रतिस्थापन गर्दै नयाँ निर्देशिका सन् २०१८ मा प्रकाशित गरेको थियो । त्यस लगत्तै नेपालले पनि सन् २०१९ मा रेबिजसम्बन्धी नयाँ निर्देशिका प्रकाशित गरेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।