काठमाडौं : होटल व्यवसाय क्षेत्रमा विद्यमान वेथिती र अवैध धन्दा रोक्न काठमाडौंमा सशक्त रुपमा अनुगमन शुरु भएको छ ।
नेपाल प्रहरी, पालिका र स्थानीय संघसंस्थाको संयुक्त अनुगमनमा स्वयं होटल व्यवसायी संघसमेत संयोजनकारी भूमिकामा उभिएको छ । प्रहरी बृत चक्रपथ, नेपाली होटल व्यवसायी संघ, काठमाडौं होटल व्यवसायी संघ, टोखा नगरपालिका, महिला उपकार मंच र विभिन्न टोलका टोल सुधार समितीले संयुक्त रुपमा अनुगमन गरेको हो । संघका अध्यक्ष गणेश ढकाल र टोखा नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष रामभक्त घिमिरेको संयोजकत्वमा शुरु भएको अनुगमनले नियमित रुपमा अनुगमन गर्दै नियम विपरित संचालन भएका होटलहरुमा तालबन्दीसमेत गरिरहेको छ । अनुगमनमा व्यवसाय दर्ता, संस्था नविकरण, होटलका अवैध गतिबिधि, मापदण्ड, ग्राहकको पहिचान जस्ता विषय केन्द्रित गर्दै धमाधाम कार्वाही प्रक्रिया अघि बढाईएको छ । हालसम्म १३ वटा अवैध रुपमा सञ्चालनमा रहेका व्यवसायमा ८ वटा रेस्टुरेन्ट र ५ वटा होटलमा तालाबन्दी भइसकेको छ । अनुगमनका क्रममा कतिपय होटलमा अनैतिक कार्य गरिरहेको अवस्थामा समेत टोलीले रंगेहात पक्राउ गरेको छ ।
टोखा नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष रामभक्त घिमिरेले अवैध होटलहरुलाई कानुनको दायरामा ल्याई पूर्णरुपमा बन्द गरिने गरि कार्य अघि बढेको बताउनुभयो । यस्तै नेपाली होटल व्यवसायी संघका अध्यक्ष गणेश ढकालले केही अवैध गतिबिधिमा संलग्न होटल व्यवसायीका कारण समस्त होटल व्यवसायलाई हेर्ने दृष्टिकोण नै फेरिएको भन्दै होटल व्यवसायप्रतिको स्वच्छता र विश्वसनियता बढाउन अनुगमनमा सहजिकरण गरेको बताउनुभयो । गलत मनसायले व्यवसाय गर्नेहरुलाई आफ्नो कार्यकालमा निमिट्यान्न पार्ने अध्यक्ष ढकालको अठोट छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।