सप्तरी : सप्तरी जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका फेरि एक दर्दनाक आपराधिक घटनाको साक्षी बनेको छ। नगरपालिकाको वडा नं. ११ स्थित सखुवा टोल नजिक कोशी नदीमा एक १४ वर्षीया किशोरीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।
स्थानीय बासिन्दाले नदीको झांगमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको प्रारम्भिक अनुसन्धानले हत्या गरेर शव त्यहाँ फालिएको हुनसक्ने आशंका गरिएको छ। तर, हत्या किन र कसले गर्यो भन्ने विषयमा कुनै ठोस विवरण हालसम्म बाहिर आएको छैन।
पीडित किशोरीको परिचय खुल्न सकेको छैन। शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
केही दिनअघि मात्र रॉयल बोर्डिङ स्कुलमा अध्ययनरत एक छात्रामाथि भएको ज्यान मार्ने प्रयासले नगरवासीलाई स्तब्ध बनाएको थियो। पछिल्लो घटनाले नगरवासीहरूलाई झन् गहिरो त्रासमा पुर्याएको छ।
अन्तर्राष्ट्रिय सीमा नजिक रहेको यस क्षेत्रमा आपराधिक गतिविधि बढ्दै गएको भन्दै स्थानीय बासिन्दाले सुरक्षा व्यवस्थामा कडाइ गर्न प्रशासनसँग माग गरेका छन्। प्रहरीले अपराधीलाई चाँडै पक्राउ गरी कानूनी कारबाही अघि बढाउने प्रतिबद्धता जनाएको छ।
यो घटनाले हनुमाननगर कंकालनी नगरपालिकामा शान्ति सुरक्षा कायम राख्न थप प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ। स्थानीय निकाय र प्रहरी प्रशासनले यस्ता घटनाहरू दोहोरिन नदिन कडा रणनीति अपनाउने आवश्यक छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।