हनुमाननगर कंकालिनी नगरपालिका-९ मा चोरी, व्यापारीमा असुरक्षाको संभावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रवि शर्मा 

सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ स्थित रामदेव मण्डलको बेकरी पसलमा गएराति चोरी भएको छ। पसलबाट नगदसहित विभिन्न सामान गरी करिब ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको अनुमान गरिएको छ।

स्थानीय व्यापारीका अनुसार यो महिनाभित्रै वडामा चारवटा पसलमा चोरीको घटना भइसकेको छ। बारम्बार चोरीका घटना दोहोरिनु र सुरक्षा निकायको फितलो उपस्थिति रहेको भन्दै व्यापारीहरूले असुरक्षाको भावना व्यक्त गरेका छन्।

चोरीको घटनाले व्यवसाय सञ्चालनमा थप चुनौती उत्पन्न गराएको बताउँदै व्यापारीहरूले सुरक्षा निकायलाई चाँडोभन्दा चाँडो सक्रिय हुन र घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

सुरक्षा निकायका प्रतिनिधिहरूले घटनाबारे अनुसन्धान भइरहेको र चोरीको क्रम रोक्न थप कदम चालिने बताएका छन्। यद्यपि, स्थानीय व्यापारीहरूले शीघ्र प्रभावकारी कदम चाल्न आग्रह गरिरहेका छन्।

हनुमाननगरमा चोरीका घटना दिनप्रतिदिन बढ्दै गइरहेकाले सुरक्षा व्यवस्थामा सुधार आवश्यक देखिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।