गृहमन्त्री लेखीलाई भुमिगत समुहद्वारा धम्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१४ मंसिर शुक्रवार 

काठमाडौं : मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई भूमिगत समूहले 'तह लगाइदिने' धम्की दिएको छ। ह्वाट्स एपमा फोन गरेर भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण यादवले लेखीलाई तह लगाउँछु भन्दै धम्की दिएका हुन्।

आर्थिक सहयोग दिन अस्वीकार गरेपछि आफूलाई जेसुकै गरिदिने धम्की दिएको मन्त्री लेखीले बताए। 'ह्वाट्स एपमा तीनपटक फोन गरेर आर्थिक सहयोग माग्नुभयो। मैले आर्थिक सहयोग दिन सक्दिनँ भने। मन्त्री हुनुहुन्छ जसरी पनि आर्थिक सहयोग चाहिन्छ, नभए तह लगाउँछौं भन्दै धम्क्याउनुभयो।

उक्त समूहले तराईमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएको उनको भनाइ छ। सप्तरी निवासी लेखी र यादव कुनै समय एमालेबाट सँगै राजनीति गर्थे। यादव सप्तरीको एमाले अध्यक्ष रहँदा लेखी काठमाडौं-सप्तरी जनसम्पर्क मञ्चका नेता थिए। त्यसबेला उनीहरूबीच घनिष्टता पनि रहेको बताइन्छ। तर, आपराधिक गतिविधिमा लागेपछि उनीहरूबीच सम्पर्क विच्छेद भएको लेखीले बताए। 'सरकारमा छौं, आर्थिक सहयोग गर्नुपर्‍यो भन्दैमा राज्यको पैसा दिने कुरा त हुँदैन,' मन्त्री लेखीले भने।

यस विषयमा मधेस प्रदेशको सुरक्षा समन्वय बैठकमा छलफल गरेको लेखीले बताए। मधेस प्रदेशको सुरक्षा व्यवस्था जटिल बन्दै गएको भन्दै बैठकमा उनले सुरक्षा निकायलाई कडा निर्देशन दिएको स्रोतले बतायो। 'मधेस प्रदेशको सुरक्षा व्यवस्था किन जटिल बन्दैछ? यहाँका जनताले किन शान्त वातावरणमा जीवनयापन गर्न सकेका छैनन्? सुरक्षा अधिकारीहरू कहाँ किन चुकिरहेका छन्?,' बैठकमा उनले प्रश्न गरेका थिए। ठीक ढंगले ड्युटी नगर्ने प्रहरी अधिकारीलाई कारबाही गर्नेसम्मको निर्देशन मन्त्री लेखीले दिएको स्रोतको भनाइ छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।