काठमाडौं : आज कार्तिक शुक्ल पञ्चमी तिथि अर्थात छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँएको छ । आज बिहान नुहाएर दिनभरि निराहार उपवास बसि राति सक्खरमा पकाएको खिर कूल देवता र छठी देवीलाई चढाएपछि व्रतालुले त्यो खिर खान्छन् । यो विधिलाई नै खरना भनिएको हो । निकै श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई ध्यान दिइने छठ पर्वको खरनाको दिन दिनभरि व्रत बसेर बेलुका चन्द्रमाको दर्शन गरेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामल राखेर पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यहरुले प्रसादको रुपमा खाने गर्छन् ।
दिनभरि उपवास गरेका व्रतालुले सूर्य अस्ताएपछि चन्द्रमाको दर्शन गरेर यो विधि सम्पन्न गर्नेछन् । भोलि छठ पर्वको तेस्रो दिन हो । भोलि कात्तिक शुक्ल षष्ठी तिथिका दिन सूर्य उपासना गर्दै निराहार व्रत बसेर साँझपख व्रतालुले जलाशयमा कम्मरसम्म डुबेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिन्छन् भने सप्तमीका दिन बिहान व्रतालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्दछन् । छठ पर्वमा ढिकी–जाँतोमा कुटिएको (पिसेको) पिठोबाट प्रसादका रुपमा ठकुवा, भुसुवा तयार गरिन्छ ।
यस्तै, काठमाण्डौ महानगरपालिकाले छठ पर्व मनाउनका लागि आठ वटा ठाउँमा व्यवस्थापनको काम गरिरहेको छ ।छठ मनाउनका लागि वडा नम्बर ८ को गौरीघाट, वडा नम्बर ३२ को कोटेश्वर दोभान, वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ११ को वंशीघाट, वडा नम्बर १६ को बालाजु बाइसधारा, वडा नम्बर १३ को धौखेल, वडा नम्बर १४ को कुमारी क्लब तथा भुवनेश्वरी मन्दिरमा व्यवस्थापनको काम भइरहेको महानगरले जनाएको छ । अहिले यी ठाउँहरूमा पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र स्थल व्यवस्थापनको काम भइरहेको छ । यसका साथै सम्बन्धित वडाबाट पनि काम भइरहेको महानगरले जनाएको छ ।यसैबीच काठमाण्डौ उपत्यकामा छठको रौनक शुरू भएको छ । चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गतको छठ पूजाका लागि काठमाण्डौ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका ठाउँमा नदी किनारहरू सिँगारिएका छन् ।यस्तै एकीकृत बाग्मती सभ्यता विकास समितिअन्तर्गत बाग्मती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी बाग्मती नदीमा छाड्ने तयारी भएको जनाएको छ ।
उता, छठका लागि जनकपुरधामस्थित पोखरीहरुमा घाट निर्माण पूरा भएको छ । जनकपुरधामका गंगा सागर पोखरी, धनुष सागर पोखरी, अरगजा पोखरी, महरासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, मटकोरबा पोखरी, दुधमती घाटलगायत जलाशयलाई स्थानीयले सरसफाइ गरेर सजाएको छ । पोखरीको डिलमा टेन्ट लगाएर घाटहरु निर्माण गरिएको छ । घाटमा रातिको समयमा आकर्षक देखिने रंग(बिरंगी लाइट लगाएर श्रृंगारिएको छ । जताततै छठका गितहरु गुञ्जिन थालेपछि रौनकता थपिएको छ । छठको पहिलो दिन मंगलवार ब्रतालुले नहायखाय गरी छठ पर्व आरम्भ गरे । आज दोस्रो दिन खरना विधि गरिदैछ ।
बिहिवार छठको मुख्यदिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ । शुक्रवार बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त गरिन्छ । छठमा ब्रतालुले मुख्यतया सूर्यदेवको पूजापाठ गर्छन् । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने धार्मिक जनविश्वास रहेको छ । छठ पर्वको मुख्य प्रसादका रूपमा ठकुवा, भुसबा, केरा, फलफूल, मीठाइ, अदुवा, माटोबाट निर्मित हात्ती, कुर्वार, दियो, घैटो, उखुलगायत बासबाट बनेका अन्य सामग्री चढाइन्छ । अहिले बजारमा सो समानहरु किनमेल गर्नेहरुको भिडभाड देख्न सकिन्छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।