वडा सचिवले स्थानीय पञ्जिकाधिकारीको जिम्मेवारी अन्य कर्मचारीलाई दिन नपाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, असोज १४ गते ।

कैलाश माझी : वडा कार्यालयका प्रशासकीय प्रमुख अर्थात् वडा सचिवले आफूलाई प्राप्त स्थानीय पञ्जिकाधिकारीको जिम्मेवारी मातहतका अन्य कर्मचारीलाई प्रत्यायोजन गर्न नपाउने भएका छन्।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै स्थानीय पञ्जिकाधिकारीलाई पत्राचार गर्दै प्रचलित कानूनअनुसार स्थानीय पञ्जिकाधिकारीको जिम्मेवारी अन्य कर्मचारीलाई प्रत्यायोजन गर्न नमिल्ने स्पष्ट पारेको हो।

विभागका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा १७ को उपदफा (२) मा प्रत्येक गाउँपालिका वा नगरपालिकाको वडा कार्यालयको प्रशासकीय प्रमुखका रूपमा काम गर्न अधिकार प्राप्त कर्मचारीले स्थानीय पञ्जिकाधिकारीका रूपमा काम गर्नुपर्ने व्यवस्था छ।

तर, केही वडा कार्यालयका प्रशासकीय प्रमुख अर्थात् वडा सचिवहरूले आफूलाई प्राप्त स्थानीय पञ्जिकाधिकारीको जिम्मेवारी मातहतका कर्मचारीलाई प्रत्यायोजन गरेको जानकारी प्राप्त भएको विभागले जनाएको छ।

विभागले कानूनमा स्थानीय पञ्जिकाधिकारीको जिम्मेवारी प्रत्यायोजन गर्न सकिने व्यवस्था नरहेको भन्दै वडा कार्यालयको प्रशासकीय प्रमुखका रूपमा कामकाज गर्न अधिकार प्राप्त कर्मचारी अर्थात् वडा सचिव स्वयंले स्थानीय पञ्जिकाधिकारीको जिम्मेवारी वहन गर्न निर्देशन दिएको छ।

यससँगै जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइँसराइजस्ता व्यक्तिगत घटना दर्तासम्बन्धी स्थानीय पञ्जीकरणका काममा वडा सचिवको प्रत्यक्ष जिम्मेवारी रहने भएको छ।

विभागले देशभरका सबै ७५३ स्थानीय तहलाई समेत पत्रको बोधार्थ पठाउँदै सोहीअनुसार आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।