लागूऔषध नियन्त्रण ब्युरो र प्रहरीको संयुक्त टोलीद्वारा गाँजाजस्तो पदार्थ बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिरहा, कार्तिक १० गते ।

कैलाश माझी : सिरहाको धनगढीमाई नगरपालिका–१० डगर टोलबाट प्रहरीले ६ किलो २७० ग्राम गाँजाजस्तो पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार २०८३ कात्तिक ९ गते दिउँसो करिब ३ः५० बजे विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले डगर टोलबाट जिरोमाइलतर्फ जाँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरी नायब निरीक्षक अनिल चौधरीको कमाण्डमा खटिएको दुई जना र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सिरहाबाट प्रहरी सहायक निरीक्षक जोगेन्द्र साहको कमाण्डमा खटिएको दुई जना गरी चार जनाको संयुक्त टोलीले म.प्र.०३–०३२ प ७५२ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकलमा प्लास्टिकका ६ वटा पोकाभित्र लुकाइछिपाइ राखिएको गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थ प्लास्टिकसहित ६ किलो ४१० ग्राम र प्लास्टिकबाहेक ६ किलो २७० ग्राम तौल भएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले उक्त पदार्थसहित मोटरसाइकल चालक सिरहाको विष्णुपुर गाउँपालिका–५, लक्ष्मीपुर निवासी ४१ वर्षीय शिवशंकर साहलाई नियन्त्रणमा लिएको छ। उनी रामचन्द्र साहका छोरा हुन्।

नियन्त्रणमा लिइएका साह, बरामद पदार्थ र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जनाएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।