विराटनगर, कात्तिक १० । मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध गाँजा र ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार कात्तिक ९ गते मोरङको जहदा गाउँपालिका–७ स्थित झुलुङ्गे पुलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले सिटी रिक्सा जाँच गर्ने क्रममा २८ किलो ४५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो।
प्रदेश १–०२–००३ अ ६४९६ नम्बरको सिटी रिक्सा जाँच गर्दा गाँजा फेला परेपछि जहदा गाउँपालिका–७ का २४ वर्षीय देव मण्डललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यस्तै, सुनसरीमा पनि ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरी टोलीले सुनसरीको धनार उपमहानगरपालिका–५ का २६ वर्षीय विशाल अछामी र ३८ वर्षीय बिरु लिम्बुलाई ४ ग्राम ७८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।