सुनसरीमा लागूऔषध कारोबारको आशंकामा तीन युवा नियन्त्रणमा, दुई सवारीसाधन बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित ओम शान्ति भवन नजिकबाट प्रहरीले १३ हजारभन्दा बढी लागूऔषध ट्याब्लेट तथा क्याप्सुलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले लागूऔषध ओसारपसारमा प्रयोग भएको सिटी सफारी र मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिअनुसार आइतबार दिउँसो ४ बजे लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी खनार, सीआरभी खनार र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त प्रहरी टोली खटिएको थियो।

प्रहरी टोलीले हरिनगर गाउँपालिका–७ निवासी १८ वर्षीय अब्दुल खानले चलाएको प्रदेश १–०२–००५ ह ६४८० नम्बरको सिटी सफारी तथा सोही सफारीमा सवार १८ वर्षीय मोतिम आलमलाई नियन्त्रणमा लिएको जनाएको छ। त्यस्तै, लागूऔषध बिक्री–वितरणमा संलग्न रहेको आरोप लागेका सोही स्थानका १८ वर्षीय सोजीप खानले चलाएको को ६ प ६२४३ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सिटी सफारीमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको ट्रमाडोलका ६ हजार ९८० क्याप्सुल र स्पामपेन प्रोका ७ हजार ट्याब्लेट बरामद भएका छन्। प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार डेक्स्ट्रोमेथोरफान हाइड्रोब्रोमाइड नामक औषधि पनि बरामद भएको छ। यद्यपि, उक्त औषधिको परिमाण विज्ञप्तिमा स्पष्ट देखिएको छैन।

नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद लागूऔषध, सिटी सफारी र मोटरसाइकलसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।