इनरुवा, भदौ १२ गते ।
कैलाश माझी : सुनसरीमा प्रहरीले भन्सार छली गरेर ल्याइएका करिब ३ लाख ३९ हजार रुपैयाँ मूल्यका अवैध सामान नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ भदौ ११ गते विभिन्न समयमा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको हो।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको टोलीले कोशी गाउँपालिका–७ बाट किराना सामान तथा लत्ताकपडा बरामद गरेको छ। उक्त सामानको अनुमानित मूल्य ३ लाख १३ हजार ८ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, प्रहरी चौकी कप्तानगञ्जबाट खटिएको टोलीले देवानगञ्ज गाउँपालिका–४ बाट भन्सार छली ल्याइएको सर्स्यौंको बीउ बरामद गरेको छ। उक्त बीउको अनुमानित मूल्य २५ हजार २ सय रुपैयाँ रहेको छ।
दुवै स्थानबाट बरामद सामानको कुल अनुमानित मूल्य ३ लाख ३९ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार भन्सार छली तथा अवैध रूपमा सामान ओसारपसार गर्ने गतिविधिमाथि प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।