काठमाडौं,साउन १५।
कैलाश माझी : पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले सुनसरी जिल्लामा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली समाजमा धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम राख्न सबै पक्षलाई आह्वान गरेका छन्।
शुक्रबार निर्मल निवासबाट जारी सद्भाव सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै यही विविधताभित्रको एकता नेपालको पहिचान र गौरव भएको बताएका छन्।
उनले नेपाल निर्माणको प्रारम्भदेखि नै नेपाली समाज परस्पर मेलमिलाप, प्रेम, सहिष्णुता र आपसी सम्मानका आधारमा अघि बढ्दै आएको स्मरण गराउँदै कुनै पनि व्यक्ति वा समूहबाट सामाजिक तथा धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि हुन नहुने बताएका छन्।
पूर्वराजा ज्ञानेन्द्रले केही दिनअघि सुनसरी जिल्लाका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको तथा त्यसको प्रभाव कोशी क्षेत्र र तराईका विभिन्न जिल्लासम्म फैलिएको खबरले आफू अत्यन्त दुःखी भएको उल्लेख गरेका छन्।
उनले नेपाललाई सामाजिक सद्भाव र सहअस्तित्वको उदाहरणका रूपमा चिनिने देश भन्दै यस्ता अवाञ्छित घटना र हिंसात्मक गतिविधि नेपाली समाजका मौलिक मूल्य, मान्यता र परम्पराविपरीत भएको बताएका छन्।
सन्देशमा उनले देशका सबै नागरिकलाई जात, धर्म, भाषा र क्षेत्रभन्दा माथि उठेर आपसी एकता, सहिष्णुता र भाइचाराको भावना बलियो बनाउन आग्रह गरेका छन्। "जुनसुकै भूभागमा रहेर बस्ने हामी सबै नेपाली मिलेर बसौं, यही आजको आवश्यकता हो," भन्ने सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्रले शान्ति, संयम र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबैलाई सहयोग गर्न अपिल गरेका छन्।
निर्मल निवासबाट जारी सन्देशको अन्त्यमा पूर्वराजा ज्ञानेन्द्रले "जय नेपाल" भन्दै सम्पूर्ण नेपालीमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना अझ सुदृढ बनाउन आग्रह गरेका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।