साम्प्रदायिक सामग्री प्रती प्रेस काउन्सिलको कडाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं,साउन १३।

कैलाश माझी : प्रेस काउन्सिल नेपालले सुनसरीलगायत पूर्वी नेपालका जिल्लामा हालै घटेको संवेदनशील घटनालाई लिएर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको नियमित अनुगमन गरिरहेको जनाएको छ।

काउन्सिलले पछिल्लो समय सञ्चारमाध्यम तथा सञ्चारमाध्यमसँग सम्बन्धित सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन गर्ने क्रममा धार्मिक तथा साम्प्रदायिक सद्भावमा प्रतिकूल असर पार्ने, हिंसा, आतंक र अपराधलाई प्रश्रय पुग्ने तथा उत्तेजना फैलाउने किसिमका गलत, भ्रमपूर्ण र अफवाहजन्य सामग्री सम्प्रेषण भएको पाइएको जनाएको छ।

प्रेस काउन्सिल नेपालका अनुसार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने १४ वटा मिडियालाई तत्काल त्यस्ता सामग्री हटाउन टेलिफोनमार्फत निर्देशन दिइएको थियो। निर्देशनपछि ७ वटा मिडियाले सामग्री हटाई काउन्सिललाई जानकारी गराएका छन्।

त्यस्तै, एक मिडियालाई २४ घण्टाभित्र लिखित निर्देशनसहित स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको काउन्सिलले जनाएको छ। मौखिक निर्देशन पालना नगर्ने मिडियासँग लिखित स्पष्टीकरण माग गरिएको समेत विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, मिडियाअन्तर्गत आबद्ध नभएका ६ वटा सामाजिक सञ्जाल अकाउन्टमध्ये ५ वटा फेसबुक पेज र १ वटा युट्युब च्यानलबाट सम्प्रेषित ८ वटा गम्भीर प्रकृतिका सामग्रीका विषयमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न प्रेस काउन्सिल नेपालले नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरेको जनाएको छ।

काउन्सिलले पत्रकारिताका मूल्य, मान्यता र आचारसंहिताविपरीत पेसागत जिम्मेवारीबाट विमुख भई संवेदनशील परिस्थितिलाई थप भड्काउने किसिमका सामग्री सम्प्रेषण नगर्न तथा नगराउन आमसञ्चार माध्यम, पत्रकार तथा सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तालगायत सबैमा अपिल गरेको छ।

प्रेस काउन्सिल नेपालले विशेषगरी धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुग्ने, हिंसा तथा उत्तेजना फैलाउने र समाजमा अशान्ति सिर्जना गर्न सक्ने गलत तथा भ्रामक सूचना सम्प्रेषण नगर्न सबै पक्षलाई आग्रह गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।