साम्प्रदायिक अफवाह फैलाउँदै फलामको रड प्रहार गरेको आरोपमा राजविराजका एक व्यक्ति पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज,साउन १३।

कैलाश माझी : सप्तरीको राजविराज नगरपालिका–९ स्थित गीता पेट्रोल पम्प नजिक एक व्यक्तिमाथि फलामको रड प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सोमबार दिउँसो करिब १२ः३० बजे राजविराज नगरपालिका–९ बस्ने अन्दाजी ३५ वर्षीय फौदार सदाले विष्णुपुर गाउँपालिका–७ बस्ने अन्दाजी ३५ वर्षीय जागेश्वर मण्डलमाथि फलामको रड प्रहार गरेका थिए।

प्रहरीका अनुसार घटना राजविराजस्थित आँखा अस्पतालबाट रुपनीतर्फ जाने सडकखण्डमा रहेको गीता पेट्रोल पम्प नजिक भएको हो। रड प्रहारबाट घाइते भएका जागेश्वर मण्डललाई तत्काल उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पठाइएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले रड प्रहार गर्ने आरोपमा फौदार सदालाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान अघि बढाएको छ।

प्रहरीले घटनालाई साम्प्रदायिक विषयसँग जोडेर गलत अफवाह फैलाइएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा घटनाको वास्तविक कारण व्यक्तिगत रिसइबी रहेको र साम्प्रदायिक अफवाहसम्बन्धी कुरा सत्य नभएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरीले घटनालाई साम्प्रदायिक रंग दिएर गलत सूचना तथा अफवाह नफैलाउन समेत आग्रह गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।