राजविराज, सप्तरी।
जिल्ला प्रहरी कार्यालय सप्तरीले अदालतको फैसलापछि फरार रहेका ८ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा दाखिला गरेको छ।
फैसला कार्यान्वयन अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी टोलीले सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएपछि लामो समयदेखि फरार रहेका प्रतिवादीहरूको खोजतलास गर्दै नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार कुटपिट, बहुविवाह, लेनदेन तथा चेक अनादर सम्बन्धी मुद्दामा दोषी ठहर भई अदालतबाट फैसला भइसकेका प्रतिवादीहरूलाई मिति २०८२ माघ २ गते पक्राउ गरी अदालतमा बुझाइएको छ।
पक्राउ पर्नेहरूमा राजविराज नगरपालिका–७ का भदी साहु तेली, देव नारायण साहु, प्रमन्नद साह तेली र सरिता झा रहेका छन् भने रुपनी गाउँपालिका–२ का मुक्तिलाल साह र मौजेलाल साह, शम्भुनाथ नगरपालिका–१२ की बबिता कुमारी चौधरी तथा महादेवा गाउँपालिका–३ का रमेश कुमार यादव रहेका छन्।
अदालतको फैसलाअनुसार सरिता झालाई १ वर्ष कैद सजाय तोकिएको छ भने अन्य प्रतिवादीहरूबाट जम्मा रु. ३ हजार ६ सय ४३ रुपैयाँ ३१ पैसा जरिवाना असुल हुने व्यवस्था छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार फरार प्रतिवादीहरूलाई कानुनको दायरामा ल्याउने अभियान निरन्तर जारी रहने छ। उनले अदालतका फैसला कार्यान्वयनमा प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्दै फरार प्रतिवादीहरूलाई स्वेच्छिक रूपमा उपस्थित हुन पनि आग्रह गरेका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।