काठमाडौं, साउन १।
कैलाश माझी : नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक (प्रोमोसनल) गीतप्रति गम्भीर आपत्ति जनाएको छ।
महासङ्घले उक्त गीतमा महिला शिक्षकलाई लक्षित अमर्यादित शब्द र भाव समावेश गरिएको भन्दै तत्काल गीत हटाउन र चलचित्रमा प्रयोग नगर्न सम्बन्धित पक्षसँग माग गरेको छ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापा द्वारा जारी विज्ञप्तिमा गीतले शिक्षक तथा शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ कि सार्वजनिक गरिएको गीतमा प्रयोग भएका शब्द र प्रस्तुतीकरणले विशेषगरी महिला शिक्षकको सम्मानमा आँच पुर्याएको महसुस गरिएको छ। यस्तो सामग्रीले समाजमा शिक्षकप्रतिको सम्मान घटाउने तथा शिक्षण पेसालाई नकारात्मक रूपमा चित्रण गर्ने भएकाले यसलाई तुरुन्त रोक्नुपर्ने महासङ्घको माग छ।
महासङ्घले सम्बन्धित चलचित्र निर्माता तथा कलाकारलाई उक्त गीत चलचित्रबाट हटाउन आग्रह गर्दै, यदि विवादित गीतलाई यथावत् प्रयोग गरिए त्यसबाट उत्पन्न हुन सक्ने असहज परिस्थिति र परिणामको सम्पूर्ण जिम्मेवारी निर्माता तथा सम्बन्धित कलाकारहरूले नै वहन गर्नुपर्ने चेतावनी पनि दिएको छ।
महासङ्घले शिक्षकको सम्मान र शिक्षण पेसाको गरिमा जोगाउन सबै सरोकारवाला पक्षलाई संवेदनशील बन्न आग्रह गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।