कुटपिट गर्दै बन्धक बनाएर १८ लाख फिरौती मागेको आरोपमा ७ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, साउन २९ गते।

काठमाडौंमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर कुटपिट गर्नुका साथै परिवारसँग १८ लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। प्रहरीले अपहरणमा परेका व्यक्तिको भने सकुशल उद्धार गरेको जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार झापा शिवसताक्षी नगरपालिका–१० माइधार घर भई हाल काठमाडौं महानगरपालिका–२६ मित्रनगर बस्ने नवि रायालाई अपरिचित ५/६ जनाको समूहले अपहरण गरेको सूचना प्राप्त भएको थियो।

साउन २८ गते प्राप्त गोप्य सूचनाअनुसार अपहरणकारी समूहले रायालाई नियन्त्रणमा लिएर बन्धक बनाएको, कुटपिटसमेत गरेको तथा उनलाई छुटाउन परिवारसँग १८ लाख रुपैयाँ फिरौती माग गरेको खुलेको प्रहरीले जनाएको छ।

सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पीडितको सकुशल उद्धार तथा घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन विशेष प्रहरी टोली परिचालन गरेको थियो।

प्रहरी टोलीले साउन २८ गते साँझ करिब ६ः३० बजे काठमाडौंको नागार्जुन नगरपालिका–५, छग्डोलबाट अपहरणमा परेका रायालाई सकुशल उद्धार गरेको हो। उद्धारका क्रममा घटनामा संलग्न रहेको आरोपमा सात जनालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

को–को पक्राउ परे?

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा:
१. मनोज बुढाथोकी, ३२ वर्ष
२. निशान रुम्बा तामाङ, २० वर्ष
३. जेनिश चौधरी, २२ वर्ष
४. निमेश कार्की, २४ वर्ष
५. अमित ओली, २४ वर्ष
६. प्रदिप पोखरेल, २२ वर्ष
७. दे कुमार श्रेष्ठ, २३ वर्ष रहेका छन्।

पक्राउ परेका व्यक्तिहरू रामेछाप, मकवानपुर, सर्लाही, ओखलढुंगा, चितवन, अर्घाखाँची र काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानका रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। घटनामा उनीहरूको भूमिका, अपहरणको उद्देश्य, पीडितलाई कहाँ र कसरी बन्धक बनाइएको थियो तथा फिरौती रकम माग गर्नुको पछाडिको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

पक्राउ परेका सातै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिइएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ। प्रहरीले अपहरण घटनामा संलग्न अन्य व्यक्ति भए/नभएको विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।